काठमाडौं, असोज ३ । प्रत्येक पाँच मिनेटमा कतै न कतै कोही न कोहीको सर्पदंशका कारण ज्यान जान्छ भने अन्य चार जना स्थायी रुपमा अपाङ्ग हुन्छन्।
तर विश्वमा केही मानिसहरू छन् जसले ठूलो जोखिम मोल्दै यो घस्रने जन्तुसँग जोडिएका विभिन्न किसिमका अनुसन्धान गर्छन्।
अमेरिकी राज्य विसकनसिनमा बस्ने टिम फ्रिडा त्यस्तै मध्ये एक हुन्।
उनी जानाजान विषालु सर्पलाई डस्न लगाउँछन्, त्यसको भिडिओ खिच्छन् र युट्यूबमा अपलोड गर्छन्।
एउटा त्यस्तै भिडिओमा, टिमले विषालु अफ्रिकी सर्प माम्बाले दुईपटक आफूलाई डसेपछि हातबाट बगिरहेको रगतको बेवास्ता गर्दै क्यामरा अगाडि बोलेका छन्।
“ब्ल्याक् माम्बाले डसेपछि तत्काल दुख्छ। यो हजारौं माहुरीले एकैपटक टोकेजस्तै हो। माहुरीको टोकाइमा एक वा दुई मिलिग्राम विष हुनसक्छ तर माम्बाको टोकाइमा भने तीन सयदेखि पाँच सय मिलिग्रामसम्म विष हुनसक्छ।”
त्यसपछि के भयो भन्ने पनि उनले बीबीसीलाई बताएका छन्।
“त्यसपछि सुन्निन थाल्यो। त्यसपछिका केही दिन म थला परेँ। जति सुन्निएको थियो त्यो हेरेर सर्पले मेरो शरीरमा कति विष छोडेको रहेछ भनेर म अनुमान गर्न सक्छु। यो एकदमै पीडादायी छ।”
लिभरपुल स्कुल अफ ट्रपिकल मेडिसिनका डाक्टर स्टुवार्ट एन्सवर्थ भन्छन्,”यी मानिसहरू के गर्छन् भन्ने हामीलाई थाहा छैन। यो खतरापूर्ण र अनैतिक हो। हामी उनीहरूसँग काम गर्दैनौं।”
सर्पदंशको नयाँ र विश्वव्यापी उपचार खोज्ने प्रयास गरिरहेका संस्थाहरू मध्ये एउटा उनको पनि हो।
सामान्यत: नयाँ खोपहरू मुसा वा अन्य जनावरमाथि प्रयोग गरिन्छ र सुरक्षित पाइएपछि मात्रै एउटा नियन्त्रित वातावरणमा मानिसमाथि परीक्षण गरिन्छ।
“धेरै नियमन नगरिने भएकोले मानिसहरू आफैँ खोप लगाउँछन्। तर यो अभ्यासले ज्यानै पनि जानसक्छ। मानिसले यसो गर्न हुँदैन,” डाक्टर एन्सवर्थले भने।
तर विश्वभरको फर्मस्यूटिकल उद्योगमा, एन्टी भेनम भनिने सर्पदंश लगायत विषालु जीवको टोकाइमा प्रयोग गरिने औषधीको अनुसन्धानका लागि ठोस मार्ग निर्देशन उपलब्ध छैन्।