एजेन्सी । चर्चित सुपरमार्केट वालमार्टले अमेरिकामा विद्युतीय चुरोट बिक्री रोकेको छ । विभिन्न स्वादमा बजारमा पाइने इ– सिगरेट (विद्युतीय चुरोट) को सेवनले मानिसहरुको युवावस्थामै मृत्यु हुने र फोक्सोमा गम्भीर संक्रमण बढ्न थालेसँगै अमेरिकामा पछिल्लो समय प्रतिबन्धकै माग उठिरहेको बेला वालमार्टले बिक्रि बन्द गर्ने निर्णय गरेको हो ।
अमेरिकामा विद्युतीय चुरोट सेवनबाट फोक्सोमा संक्रमण भएका पाँच सयभन्दा बढी बिरामी भेटिएपछि यसको व्यवसाय नै संकटमा परेको छ । गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै सबै स्वादका विद्युतीय चुरोट बिक्रिमा प्रतिबन्ध लगाउने बताएका थिए । अमेरिका राज्यहरु न्यूयोर्क र मिसिगनले यसअघि नै प्रतिबन्ध लगाइसकेका छन् ।
गत शुक्रबार अमेरिकी माथिल्लो सदनका सांसद सांसदहरुले स्वास्थ्यसम्बन्धी अमेरिकी अधिकारीहरुलाई भेटेरै सबै चुरोटमाथ रोक लगाउन माग गरेका थिए । सोसँगै अन्य देशमा समेत यसबारे छलफल र बहस शूरु भएको छ । भारतले पनि गत हप्ता नै विद्युतीइ चुरोटमाथि प्रतिबन्ध लगाउने बताइसकेको छ ।
वालमार्टका सबै स्टोरहरुमा बिक्री रोकिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । यसअघि इ– सिगरेट सुर्तीजन्य चुरोटको तुलनामा सुरक्षित र कम असरदार भन्दै विकल्पका रुपमा हेरिएपनि बढी स्वास्थ्य जोखिम देखिन थालेपछि यसको नियन्त्रण प्रक्रिया शुरु भएको हो ।
इ– सिगरेटमा हुने निकोटिनले मानिसहरुलाई लती बनाउने भएका कारण यो चाँडै लोकप्रिय बनेको थियो । अमेरिकामा यसको प्रयोगका कारण आठ जनाको मृत्यु हुनुका साथै पाँच सयभन्दा बढीको फोक्सोमा गम्भीर संक्रमण देखिएको बताइएको छ । यी सबै बिरामीहरुले इ सिगरेट प्रयोग गर्ने पाइएपछि सरकारी अधिकारीले चासो बढाएको बीबीसीले जनाएको छ ।