काठमाडौँ, असोज ७ । धादिङको सिस्नेखोलादेखि काठमाडौँ नागढुंगा जोड्ने सुरुङमार्ग निर्माणको ठेक्का जापानी कम्पनी हाज्मा÷आन्दो जेभीले पाएको छ । सोमबार आयोजनाले उक्त जापानी कम्पनीसँग ठेक्का सम्झौता गरेको हो ।
आयोजना प्रमुख श्यामप्रसाद खरेलकाअनुसार तिहारपछि (नोभेम्बर १) बाट सुरुङमार्ग निर्माणको काम थालिनेछ । काम थालेको साढे ३ वर्ष अर्थात ४२ महिनामा सुरुङमार्ग तयार हुनेछ ।
यो आयोजना करिब १५ अर्ब २५ करोडको लागतमा बन्न लागेको हो । करबाहेक सुरुङमार्ग साढे १३ अर्बमा ठेक्का लागेको हो ।
हाजमा नेपालमा राम्रो काम गर्ने इतिहास भएको जापानी कम्पनी हो । काटेश्वर–सूर्यविनायक खण्डलाई ८ लेनमा विस्तार गर्ने काम यही कम्पनीले गरेको थियो । उसले नै बिपी राजमार्गको निर्माण गरेको हो ।
यो सुरुङमार्ग निर्माणका लागि सरकारले यो वर्ष ६ अर्ब २७ करोड विनियोजन गरेको सडक विभागको विकास सहायता महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए ।
टेण्डर मूल्यांकन प्रक्रियामा लामो समय अलमल हुँदा यो सुरुङमार्ग निर्माणको काम थाल्न ढिलाइ भएको छ । यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार भइसकेको छ । सुरुङमार्गको डिजाइन जापान सरकारले गरेको हो ।
सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०।०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।
नौबीसेदेखि थानकोटसम्मको सडक खण्ड घुमाउरो र उकालो ओरालो भएका कारण यो क्षेत्रमा ट्राफिक जाम हुने गरेको छ । यस्तो ट्राफिक जाम न्युनीकरण गर्ने भन्दै सरकारले यस्तो योजना अघि सारेको हो ।
विभागका अनुसार यो सुरुङमार्गको लम्बाइ २.३५ किलोमिटर हुनेछ । अहिले सडकमा सानो अवरोध आउँदा पनि नौबीसेदेखि काठमाडौ प्रवेश गर्न नाकामै तीन घन्टासम्म पनि जाममा बस्नुपर्ने बाध्यता छ । सुरुङमार्ग निर्माण भएपछि भने २० मिनेटमा काठमाडौं प्रवेश गर्न सकिने विभागको दाबी छ ।