डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने विपक्षीको तयारी

दियो पोस्ट  

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउनुपर्ने विपक्षी नेताहरुले बताएका छन् । आगामी निर्वाचनमा आफुलाई चुनौती दिन सक्ने ब्यक्तिको अनुसन्धान गर्नका लागि युक्रैनी राष्ट्रपतिलाई दबाव दिएको भन्दै विपक्षी दल डेमोक्र्याटिक पार्टीका नेताहरुलाई ट्रम्पको उपचारका लागि महाअभियोग नै उचित हुने अभिव्यक्ति दिएका हुन् ।

ट्रम्पले भने आफुले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग त्यस किसिमको कुरा नगरेको भन्दै आफ्नो प्रतिरक्षा गरेका छन् । उनले भ्रष्टाचारका बारेमा समकक्षीसँग बार्तालाप गरेको बताएका छन् । संचारमाध्यमहरुमा आएका समाचारको खण्डन गर्दै राष्ट्रपति ट्रम्पले आफुले कोहीविरुद्ध पनि अनुसन्धान गर्न दवाब नदिएको बताए ।

गत साता अमेरिकी सञ्चारमाध्यमले एक गुप्त सुराकीले विदेशी नेतासँगको टेलिफोन कुराकानीको विषयवस्तु र उद्देश्यप्रति गम्भीर प्रश्न गर्दै राष्ट्रपति ट्रम्पविरुद्ध उजुरी हालेको जनाएका थिए।

अमेरिकी राष्ट्रपतिले युक्रेनी समकक्षीलाई बाइडनमाथि अनुसन्धान गर्न दबाव दिएको समाचारहरूमा उल्लेख थियो।

ट्रम्प प्रशासनले सुराकीको उजुरी कंग्रेसलाई हस्तान्तरण गर्न रोकिरहेको विवरण गत साता बाहिर आएको थियो। इन्टेलिजन्स इन्स्पेक्टर जेनरलले भने त्यसलाई ‘अत्यावश्यक’ ठहर्‍याएका थिए।

अमेरिकी कानुनअनुसार उजुरीलाई ‘अत्यावश्यक सरोकार’ ठम्याइएमा तथा इन्स्पेक्टर जेनरलले ‘विश्वसनीय’ मानेमा इन्टेलिजन्स विभागका प्रमुखले सात दिनभित्र कंग्रेसलाई सूचना दिने अपेक्षा गरिन्छ।

राष्ट्रपति ट्रम्पलाई कडा चुनौती दिनका लागि जो वाइडन चुनावी मैदानमा उत्रिएका छन् । तात्कालिन बाराक ओबामा राष्ट्रपति बनेको समयमा वाइडन उपराष्ट्रपति बनेका थिए । बाइडनले ट्रम्पलाई कडा चुनौती दिनसक्ने अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् ।