महेन्द्रनगर , २७ भदौ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जातीय विभेद सम्बन्धी पीडितले दिएको जाहेरी दर्ता गर्न अस्वीकार गरेको पाइएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ शुभकामना टोलमा बस्ने कमल ठडराई र उनकी पत्नी बिमलामाथि छिमेकी टोलकै माया नेगीले विगत ७ बर्षदेखि जातीय विभेद तथा छुवाछूत गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
कञ्चनपुर प्रहरीका एसपी मुकुन्द मरासनीले जाहेरी दर्ता गर्नुको सट्टा पीडितलाई मिलिमिलाप गर्न दबाव दिएको पाइएको छ । बुधबार जाहेरी लिएर प्रहरीकोमा पुगेका उनीहरुलाई मिल्न दबाव दिएको पीडित परिवारले जनाएको छ । प्रहरी अधिकारीहरुले पीडितको जाहेरीलाई हाँसी मजाकको रुपमा उडाएको पीडितको आरोप छ । विहिबार समेत प्रहरी कार्यालयमा पुगेका उनीहरुलाई प्रहरी फेरी मिल्न दबाव दिएको पीडितको गुनासो छ ।
प्रहरीका एसपी मरासनीले डिएसपी अमरबहादुर थापालाई मिल्नका लागि पीडितलाई दबाव दिन लगाएको खुलेको छ ।
विभेद गर्ने नेगी बाबुराम भट्टराईकी पार्टीकी नेतृ !
यसरी विभेद गर्ने व्यक्ति पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई समलग्न जनता समाजवादी पार्टीकी जिल्ला नेतृ हुन् ।
पार्टीका तर्फबाट भीमदत्त नगरपालिकाको मेयर पदमा चुनाव लडिसकेकी छन् । आफूलाई महिला अधिकारकर्मी बताउने नेगी हाल समाजवादी पार्टीमै समलग्न छिन् ।
प्रहरी कार्यालयदेखि टोल सुधार समितिसम्म पीडितले जाहेरी दिएका छन् ।
जाहेरीकर्ता विमला ठडराइले जाहेरीमै प्रमाण खुल्ने विवरण प्रस्तुत गरेकी छन् । उनले आफूमाथि विभदपूर्ण व्यवहार भएको मिति, समय, प्रत्यक्षदर्शी र साक्षीसमेत बुझ्न सकिने गरी जाहेरीमा उल्लेख गरेकी छन् । त्यसबाहेक उनले नेगीले आफूप्रति गरेको दुव्यर्वहारका अडियो क्लिप पनि सुरक्षित राखेको बताएकी छिन् । नेगीले भाण डुम जस्ता अपशब्द बोलेको आरोप छ ।
यस विषयमा प्रतिक्रिया लिन कञ्चनपुर जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकन्द मरासेनीलाई सम्पर्क गर्दा उनको फोन उठेन ।