जनकपुर, २ असोज । एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्ने भएको छ । नेपाल रेलवे विभागका अधिकारीहरूको दाबीअनुसार विहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको दुई ट्रेन सेट जनकपुरका लागि हिँडिसकेको छ ।
रेलका दुवै सेट बुझ्न रेलवे कम्पनी र विभागका उच्च अधिकारीहरू पनि काठमाडौंबाट जनकपुरका लागि बिहीबार नै हिँडिसकेको रेलवे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । ‘रेलको दुवै सेट शुक्रबार जनकपुर आइपुग्ने सम्भावना छ,’ उनले भने, ‘जनकपुरका लागि रेल हिँडिसकेको छ । बिहीबार साँझ जयनगर आइपुगेको छ । शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्छ ।’
नेपालका लागि दुई सेट रेल खरिद गर्न रेल विभागले भारतको सरकारी रेलवे कम्पनी कोंकण रेलवेज कर्पोरेसन लिमिटेडसँग गत वर्षको वैशाख २६ मा खरिद सम्झौता गरेको थियो । सम्झौताअनुसार दुई सेटमध्ये पहिलो तीन महिनाभित्र उपलब्ध गराउने र दोस्रो सेट रेल खरिदका लागि पेस्की रकम दिएको १ सय २० दिनमा उपलब्ध गराउनुपर्ने समयसीमा तोकिएको थियो । तर, रेलको सेट आउने नआउने थरीथरीको अड्कलबाजीलाई चिर्दै खरिद सम्झौता भएको १६ महिनापछि दुवै सेट जनकपुर आउन लागेको हो । आजको कान्तिपुर दैनिकमा यो समाचार प्रकाशित छ ।