डाक्टर केसीलाई काठमाडौं ल्याइयो

दियो पोस्ट  

काठमाडौं, ६असोज । जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ।

जुम्लाबाट सोमबार नेपालगञ्ज पुर्‍याइएका केसीलाई जहाजमार्फत् मंगलबार काठमाडौं ल्याइएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डाक्टर केसीलाई ट्रमा अस्पताल लगिएको छ।

चिकित्सा शिक्षामा सुधारलगायत माग राखेर विगत आठ दिनदेखि केसी अनसनमा छन्।

केसीले जुम्लाको कर्णालीस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा अस्वीकार गरेपछि काठमाडौं ल्याइएको हो। उनलाई जुम्लाबाट समिट एयरको जहाजबाट नेपालगञ्ज ल्याइएको थियो।

डाक्टर केसीले जुम्लामा स्वास्थ्य उपचार अस्वीकार गर्दै बरू आफूलाई काठमाडौं पठाइदिन आग्रह गरेका थिए। केसीको स्वास्थ्य अवस्था जटिल भइरहेको छ।

रक्तचाप कम, रगतमा चिनीको मात्रा कम देखिएको छ। मांसपेशीहरू बाउँडिने समस्या छ। मुटुको धड्कन पनि अनियमित छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबिबिएस लगायतका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने उनको माग छ।