दशैंका लागि खाद्यले ३ हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने

दियो पोस्ट  

काठमाडौं, ६ असोज । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दशैंलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भएको छ।

हरेक वर्ष सर्वसुलभ रुपमा विक्री गर्दै आएको संस्थानले यो वर्ष ३ हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो।

यो दशैंका लागि १४ सय च्याङ्ग्रा र १६ सय खसीबोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका योजना विभाग प्रमुख शर्मिला सुवेदीले बताइन्।

खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले विगत वर्षहरुमा दाङ, तुलसीपुर, हेटौंडा र नेपालगञ्ज लगायतका स्थानबाट खसी बोका ल्याउने गरेको छ।

च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउने गरेको छ। यस पटक खाद्यले खसी बोका खरिदका लागि अनुमानित ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ। गत वर्ष सोही परिमाणको खसी–बोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल ५ करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको थियो।

कति संख्यामा खरिद गर्ने भन्ने एकीन भएपनि कुन ठाउँबाट किनेर ल्याउने भन्ने विषयमा गृहकार्य भइरहेको उनले बताइन्।

सम्बन्धित खबर