दिल्ली क्यापिटल्सका कप्तान श्रेयस ऐयरलाई १२ लाख भारु जरिवाना !

दियो पोस्ट  

एजेन्सी, असोज १४ । दिल्ली क्यापिटल्सका कप्तान श्रेयस ऐयरलाई आइपिएलले जरिवाना गरेको छ। इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्लीले स्लो ओभर बलिङ गरेको भन्दै कप्तान श्रेयसलाई जरिवाना गरेको हो।

मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबादसँग दिल्ली १५ रनले पराजित भएको थियो। टस जितेर हैदराबादविरुद्ध फिल्डिङमा उत्रिएको दिल्लीले ढिलो गरी बलिङ गरेको भन्दै आइपिएलको कारबाहीमा कप्तान श्रेयस परेका हुन्।

आइपिएलको आचारसंहिताविपरीत ढिलो बलिङ गराएको अभियोगमा कप्तान श्रेयसलाई १२ लाख भारु जरिवाना गरिएको हो।

अबुधावीमा भएको खेलमा हैदराबादले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १६२ रन बनाएपछि दिल्लीले १६३ रनको लक्ष्य पाएको थियो। तर जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेटको क्षतिमा १४७ रन बनायो।

दिल्लीले यसअघि आफ्नो पहिलो खेलमा किंग्स इलाभेन पञ्जाबलाई सुपर ओभरमा र दोस्रो खेलमा चेन्नाई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो।

सम्बन्धित खबर