भोलिदेखि सुपथ मूल्य पसल संचालन हुँदैः कहाँ-कहाँ खुल्छन् पसल ?,कुन वस्तुको मूल्य कति ?

दियो पोस्ट  

काठमाडौं, १४ असोज । हरेक वर्षजस्तै यस वर्ष पनि दशैं, तिहार र छठ पर्वहरुलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडका देशभर रहेका कार्यालय, डिपो, डिलरहरुका साथै घुम्ती सेवा पसल एवं अनलाइनमार्फत् बिहीबार (असोज १५ गते) बाट सहुलियत पसल संचालन गरिने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सहज एवं सहुलियत मूल्यमा दैनिक उपभोग्य अत्यावश्यक खाद्य वस्तुहरु चामल, चिनी, नून, सिमी, दाल, खसी, च्याङ्ग्रालगायत उपभोग्य वस्तुहरु बजार मूल्य भन्दा सस्तोमा बिक्री वितरण हुनेछ। मन्त्रालयका अनुसार उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरवार, सतुङ्गगल, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी जावलाखेल, भक्तपुरका साथै घुम्ती सेवा पसल र अनलाइन मार्फत उपत्यका सहित अन्य ४९ स्थानहरुबाट र दुग्ध विकास संस्थानका आउटलेटहरु लैनचौर, न्यूरोड, खुमलटारलगायत स्थानमा सहुलियत मूल्य पसल राखिनेछ।

सहुलियत पसलमा नून प्रति केजी १८ रुपैयाँ (प्रति परिवार ४ केजीका दरले), चिनी प्रति केजी ७० रुपैयाँ (प्रतिपरिवार ४ केजीका दरले) र घ्यू प्रति लिटर ८७० रुपैयाँमा पाइनेछ।

त्यस्तै चामलमा प्रति किलो ५, खसी,बोका र च्याङ्ग्रामा प्रति किलो १० र दालमा ५ रुपैयाँ छुट दिईनेछ। सिमी र गेडागुडीमा प्रतिकिलो १० फापरमा ५ र सेतो केराउमा प्रतिकिलो ५ रुपैयाँ सस्तो पर्नेछ।

मन्त्रालयका अनुसार यस्ता सहुलियत पसल छठ पर्वको भोलिपल्टसम्म संचालनमा आउनेछन्।

सम्बन्धित खबर

ट्रेन्डिङ