काठमाडौं, १७ भदौ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हिन संरक्षण विभागले चार नेटवर्किङ कम्पनिमा छापा मारेर कागजात जफत गरेको छ । उनीहरुले बस्तुको प्रत्यक्ष विक्रीको नाममा ठगी गरेको गुनासो आएपछि विभागले छापा मारेको हो ।
विभागले ललितपुरमा रहेको नेचर हब्र्स इन्टरनेश्नल प्रा.ली, न्यु विवेक इन्टरप्राइजेज प्रा.ली, काठमाडौंमा रहेको हेल्दी लिभिङ नेपाल प्रा.ली र ग्लोबल ओरियन्स प्रा.लीमा छापा मारेको हो । अनुसन्धान टोलीले खरिद विक्री गरेको सबै बिलहरु जपफत गरेको छ ।
उनीहरुले स्वदेशीका नाममा विदेशी सामान उच्च मुल्यमा विक्री गरेको पाइएको छ ।
उनीहरुले प्रत्यक्ष विक्रीको नाममा अनुमति लिँदा खुलाएको विवरण भन्दा फरक सामग्री बिक्री गरेको सुचना विभागले फेला पारेको छ । यी कम्पनिहरुले विगतमा नै सर्वसाधरण्लाई व्यापक ठगी गर्दै आएका थिए । विभागले २०७७ असार १६ गतेदेखि अनुमति दिएपछि यी कम्पनीहरुले धन्दा शुरु गरेका हुन् । तत्कालिन विभागका महानिर्देशक नेत्र सुवेदीले यी कम्पनिहरुलाई स्विकृति दिएका थिए ।
यसअघि हर्बो, युनीटी लगायत नेटवर्किङ कम्पनिको नाममा ठगी गर्दै आएकाहरुले नै नयाँ कम्पनि खडा गरेर यस्ता कारोबार गर्दै आएका छन् ।
बस्तुको प्रत्यक्ष विक्रीको नाममा नेटवर्किङ व्यावसाय गरिरहेको खुलेपछि नेचर हब्सको नाममा ठगी गर्दै आएका अनन्त भनिने गीतेन्द्र बाबु राईले रातारात शेयर नामसारी गरेका छन् ।
उनी अध्यक्ष रहेको नेचर हब्सबारे विभागले छानबीन गर्दा उनको नाममा रहेको ९० हजार कित्ता शेयर कुमार रम्तेललाई दिएका छन् । राई र रम्तेल दुबै नेटवर्किङ व्यावसायको आवरणमा ठगी गरेपछि कारबाहीमा परेको हर्बो ईन्टरनेश्नलसँग जोडिएका व्यक्ति हुन् । उनीहरुले हर्बोकै शैलीमा नेचर हब इन्टरनेश्नल मार्फत ठगी गर्दै आएको विभागले जनाएको छ । विभाग स्रोतका अनुसार राई अहिले विभागको सम्पर्कमा छैनन् ।
उपभोक्ता हित संरक्षण विभागले २०७७ असार १७ गते उनीहरुलाई अनुमति दिएको थियो । बस्तुको प्रत्यक्ष विक्रीको अनुमति पाएपनि नेटवर्किङ व्यावसाय गरेको विभागको ठहर छ ।
नेचर हबको १० हजार कित्ता शेयरका मालिक पूर्व डिआइजी छविलाल जोशीले राम बहादुर खनाललाई विक्री गरेका छन् । डिआइजी जोशी तत्कालिन काठमाडौं प्रहरी प्रमुख हुँदा नै हर्बोको नाममा ठगीधन्दा मौलाएको थियो । उनले कारबाही गर्नुको सट्टा बार्गेनिङ गरेर शेयर हत्याएको स्रोतको दाबी छ ।
नेचर हब्सले पिरामिड शैलीको ठगी धन्दा चलाएको भन्दै विभागले गत साउनमै स्पष्टिकरण सोधेको थियो । उच्च राजनीतिक पहुँचका कारण नेचर हबमाथिको छानबीन नै प्रभावित भएको थियो ।