घोराही सिमेन्टले ‘लोडसेडिङ काल’को १ अर्ब २८ करोड विद्युत महशुल नबुझाएको खुलाशा !

diyopost.com
दियो पोस्ट  शनिबार, भाद्र १९, २०७८ | १५:४०:२०

काठमाडौं, १९ भदौ । त्रिवेणी समुह र विशाल समुहको संयुक्त लगानीमा सञ्चालित घोराही सिमेन्ट उद्योगले नेपाल विद्युत प्राधिकरणलाई एक अर्ब २८ करोड रुपैयाँ विजुलीको महशुल नतिरेको पाइएको छ ।


दाङको घोराहीस्थित गोग्लीमा सञ्चालित उक्त उद्योगले लमही वितरण केन्द्रलाई आजभन्दा ३ वर्षअघि नै १ अर्ब २७ करोड ९२ लाख ७५ हजार ९ सय रुपैयाँ विद्युत महशुल नबुझाएको पाइएको हो ।


विद्युत प्राधिकरणका पूर्व बोर्ड सदस्य भक्तबहादुर पुनको नेतृत्वमा गठित उच्चस्तरिय जाँचबुझ समितिले तयार पारेको प्रतिवेदन अनुसार घोराही सिमेन्ट उद्योगले डेडिकेटेड लाइनको सुविधा लिएको थियो । तर, डेडिकेटेड लाइनको सुविधा लिएपनि विजुलीको बिल भने डेडिकेटेड तर्फको नभई अन्य सरह बुझाएको थियो । तत्कालिन विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले व्यापारीहरुसँगको साँठगाँठमा यस्ता बिल दिन प्राधिकरणका कर्मचारीलाई बाध्य पार्ने गर्थे ।


नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ नेतृत्वमा आउनुअघि यस्ता उद्योग तथा कम्पनिहरुले सर्वसाधरणलाई दैनिक १८ घण्टासम्म लोडसेडिङमा राखेर आफूले भने २४ घण्टा विद्युत उपभोग गर्दै आएका थिए ।


२०७० साल देखि घोराही सिमेन्ट उद्योगमा डेडिकेटेड लाइनको विजुली जोडिएको प्रतिवेदनमा उल्लेख छ ।


त्रिवेणी समुहका अध्यक्ष पुरषोत्तमलाल संघाई हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघमा एशोसियट तर्फका उपाध्यक्ष रामचन्द्र संघाईका जेठा दाई हुन् । त्यस्तै विशाल समुहका अध्यक्ष जगदिश प्रसाद अग्रवाल हुन् ।

यो दुई समुहले विभिन्न व्यावसायमा साझेदारी गरेका छन् । स्रोतका अनुसार नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष संघाई विद्युतको महशुल नबुझाउन विभिन्न राजनीतिक लबिङमा लागेका छन् ।

सम्बन्धित खबर