अपहरणको आरोपमा शंकर पोखरेलविरुद्ध सांसद वलीले दिइन् जाहेरी

diyopost.com
दियो पोस्ट  बुधबार, भाद्र ३०, २०७८ | १:५९:३२

बुटवल – लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वलीले आफूलाई अपहरण तथा शरीर बन्धक बनाएको भन्दै एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध प्रहरीमा निवेदन दिएकी छन् ।पोखरेल मुख्यमन्त्री पदमा रहँदा आफूलाई दाङबाट अपहरण गरी ल्याएर साउन १५ गतेदेखि ५ दिनसम्म बन्धक बनाएको उनको दावी छ । 

वलीले पोखरेलसहित एमाले सचेतक भूमिश्वर ढकाल, दाङका एमाले नेता मानबहादुर राउत र पोखरेलको तत्कालीन सचिवालयका किरण गौतमविरुद्ध किटानी जाहेरी दिएकी हुन् । जाहेरीमा उनले निजहरुलाई अपहरण तथा शरीर बन्धकसम्वन्धी कानूनअनुसार कारवाहीको माग गरेकी छन् ।

वलीले इलाका प्रहरी कार्यालय बुटवलमा सोमबार निवेदन दिएकी हुन् । तर बुटवल प्रहरीले घटनास्थल दाङ भएकोले त्यहींबाट निवेदनको प्रक्रिया अगाडि बढाउने बताएको छ । उक्त निवेदन मंगलबार साँझसम्म दाङ पठाइएको छैन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख मनोज केसीले वलीले इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएको पुष्टि गर्दै बुटवलको साटो घटनास्थल दाङ प्रहरीमार्फत प्रक्रिया अगाडि बढाउन सुझाव दिएको बताए । ‘हामीले उहाँको जाहेरी लिएर राखेका छौं । उक्त जाहेरी यहाँको साटो दाङबाट अगाडि बढाउँदा अनुसन्धानलगायतका काममा सहज र उपयुक्त हुने भएकाले उक्त जाहेरी दाङ पठाउने र उतैबाट मुद्दा प्रक्रिया अगाडि बढाउने योजनामा छौं’ उनले भने ।

वली तत्कालीन एमाले नेता तथा लुम्बिनी प्रदेशका सांसद उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि भएको उपनिर्वाचनबाट विजयी सांसद् हुन् । माओवादी र एमाले नेकपाबीचको एकता भंग भएपछि उनी कहिले माओवादी, कहिले एमालेमा बसाइ सर्दै आएकी छन् । अल्पमतमा परेका लुम्बिनीका मुख्यमन्त्री पोखरेललाई सत्ताच्यूत गर्न भूमिका निर्वाह गरेकी उनी हाल माओवादीमा छिन् ।

सम्बन्धित खबर