प्रहरीको नाम दुरुपयोग गरेर पाल्पा सिमेन्टद्वारा डिलरमाथि पत्र आतंक: प्रहरीले निगरानी गर्ने !

diyopost.com
दियो पोस्ट  शुक्रबार, आश्विन ०८, २०७८ | ०:०९:३८

 

काठमाडौं । प्रहरीले लेनदेन मुद्दा हेर्न मिल्दैन । चेक बाउन्सदेखि विभिन्न लेनदेनका मुद्दालाई अदालतमा पेश गरेपछि अदालतको आदेशको आधारमा मात्रै प्रहरीले लेनदेन मुद्दा हेर्न पाउँने कानुनी व्यवस्था छ । तर, पाल्पा सिमेन्ट उद्योगले कोरोना महामारीको मारमा परेका डिलर तथा व्यावसायीहरुलाई प्रहरीको नाम लिएर धम्काउने गरेको पाइएको छ ।

आरएमसी ग्रुपद्वारा सञ्चालित पाल्पा सिमेन्ट उद्योगको धादिङस्थित डिलर रहेका एक व्यावसायीलाई उद्योगले तनाव दिएको पाइएको छ । ‘कोरोना महामारीका कारण हामीले पनि बजारमा दिएको उधारो सामानको भुक्तानी पाएका छैनौँ । बजारमा २ करोड रुपैयाँ यसैपनि उठ्न बाँकी छ,’ मिसन हार्डवेयर एण्ड स्टिल कम्पनिका अध्यक्ष सुवास बसेलले दियोपोस्टसँग भने,‘अहिले ७ लाख रुपैयाँको चेकको भुक्तानी नभएको भनेर प्रहरीको नाम लिएर यातना दिइएको छ । पाल्पा सिमेन्टका कारण मैले मानसिक तनाव भोग्नु परेको छ ।’

बसेलका अनुसार भूकम्पपछिको पूनर्निर्माणका क्रममा धादिङमा मात्रै २ करोड २६ लाख रुपैयाँ बजारबाटै उठ्नु छ । त्यसमा उनले पाल्पा सिमेन्टलाई २ हप्ता पछि भुक्तानी हुनेगरि ३ लाख १८ हजारको चेक समेत दिएका थिए । उनका अनुसार पाल्पा सिमेन्टले दाबी गरेको १० लाखको चेक समेत उद्योग आफैले लेखेको रकम हो ।

पाल्पा सिमेन्टले लेनदेन कारोबारको विषयलाई लिएर प्रहरीलाई मात्रै होइन उद्योग वाणिज्य महासंघलाई समेत चिठी लगेको कागजातमा देखिन्छ ।

कम्पनिका आधिकारीक व्यक्ति बताउने राज कुमार अग्रवालले आफूहरुले कुनै पनि व्यक्तिलाई चिठी पठाउँदा प्रहरीको नाम उल्लेख नगरेको दाबी गरे ।

‘यसको बारेमा म एकाउन्ट हेर्दिन । यो सबै एकाउन्टले हेर्ने हो । मेरो हस्ताक्षर त हुन्छ । जसको समय बढी भएको छ उसलाई मात्रै पत्राचार भएको छ । प्रहरीलाई लेटर दिएको छैन । जुन पनि दिएको छ बैंकलाई दिएको छ,’ अग्रवालले दियोपोस्टसँग भने,‘कहाँ प्रहरीको नाम छ ? प्रहरीले लेनदेन केस हेर्दैन मलाई पनि थाहा छ । हामी अदालत जान्छौँ । बोधार्थ एउटा जानकारीका लागि मात्रै हो । प्रहरीले केही एक्सन लिएको छैन । नाम किन लिइयो भन्ने विषयमा म भोली बुझ्छु ।’

हामी निगरानी गर्छौं :प्रहरी प्रवक्ता

यस विषयमा प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी बसन्त कुँवरलाई प्रश्न गर्दा लेनदेन विषय प्रहरीले नहेर्ने बताए । यद्धपी पाल्पा सिमेन्ट उद्योगले प्रहरीको नाम दुरुपयोग गर्दै पत्राचार गरेको विषयमा निगरानी गर्ने उनले बताए ।

सम्बन्धित खबर