काठमाडौं । सरकारले केहीदिन अघि मानव अंग प्रत्यारोपण केन्द्रको प्रमुख कार्यकारी निर्देशकमा निदान अस्पतालका मालिक डा. पुकारचन्द्र श्रेष्ठलाई नियुक्त गर्यो । मृगौला तस्करी प्रकरणमा पटक पटक विवादमा आइरहने डा. श्रेष्ठले चर्चित गायिका आनी छोइङ डोल्मा प्रमुख रहेको आरोग्य प्रतिष्ठानको रकम हिनामिना गरेको पाइएको छ ।
कुनै समय आरोग्य फाउन्डेशनले नै निदान हस्पिटल सञ्चालन गर्दै आएको थियो । तर, डा. श्रेष्ठले फाउन्डेशनमा रहँदा आर्थिक हिनामिना गरेको पाइएको हो । उनले फाउन्डेशनको करोडौंको सामग्री निदान अस्पतालमा लगेका छन् । त्यसबापत करोडौं रुपैयाँ नतिरेको अडिट रिपोर्ट फेला परेको छ । आरोग्य फाउन्डेशनले विभिन्न सरकारी निकायमा पेश गरेको अडिट रिपोर्टका अनुसार श्रेष्ठको स्वामित्व रहेको निदान अस्पतालले फाउन्डेशनलाई करिब ५ करोड रुपैयाँ बराबर तिरेको छैन ।
डा. श्रेष्ठ आरोग्य फाउन्डेशनकै पूर्व महासचिव समेत हुन् । आरोग्य फाउन्डेशनको लगानीमा स्थापित निदान अस्पताल अहिले श्रेष्ठको एकल स्वामित्वमा गइसकेको छ । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठका सहोदर भाई रहेका श्रेष्ठले निदान अस्पताल मार्फत सेटिङमा मृगौला तस्करी गर्दै आएको आरोप छ ।
उनले आरोग्य फाउन्डेशनको नाममा करोडौँ घोटाला गरेपछि पदबाट बाहिरिएका थिए । उनै श्रेष्ठलाई सरकारले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रको जिम्मा दिएपछि विभिन्न आशंक जन्मिएको छ । उनले यसअघि कार्यकारी निर्देशक रहँदा त्यहाँ कार्यरत स्टाफ नर्सहरुले चर्को आन्दोलन समेत गरेका थिए ।
आरोग्य फाउन्डेशन गैर नाफा मुलक संस्था हो । सो संस्थाले मिर्गौला डायलासिस सहित प्रत्यारोपण गर्ने विरामीका लागि प्रयोगशाला परीक्षणको सेवा दिदै आएको छ । फाउन्डेशनले निदान अस्पतालमा निशुल्क सेवा समेत सुचारु गरेको थियो । तर, डा. श्रेष्ठकै मिलेमतोमा यो अस्पताल सेवा भन्दा पनि व्यापारिक रुपमा प्रयोग भएको थियो ।
गत वर्ष नक्कली व्यक्ति खडा गरी मृगौला तस्करी गरेको अभियोगमा प्रहरीले निदान अस्पतालका सिइओ विपेन्द्र प्रधानसहित ५ जनालाई पक्राउ गरेर मुद्दा चलाएको थियो । ११ लाख रुपैयाँका लागि मृगौला तस्करी गरेको त्यतिबेला नै सार्वजनिक भएको थियो । डा. श्रेष्ठकै समलग्नतामा तस्करीको घटना भएपनि शक्ति केन्द्रको बलमा प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन ।
उनलाई मुद्दा समेत नलगाई अन्य व्यक्तिलाई मात्रै मुद्दा लगाइएको थियो । उनी शक्ति केन्द्रकै आडमा यस्तो गतिविधिमा समलग्न छन् । हाल उनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सिफारिसका आधारमा भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरिएको आरोप छ ।
यसअघि डा. श्रेष्ठको स्थानमा केपी ओली नेतृत्वको सरकारले डा. प्रेमराज ज्ञवालीलाई कार्यकारी निर्देशकमा नियुक्ती गरेको थियो । उनको पदावधी नसकिँदै सरकारले डा. श्रेष्ठलाई नियुक्त गरेको हो ।