दुबईमा नेपाली ‘नटवरलाल’ : माल्टा पठाइदिन्छु भन्दै नेपाली युवाबाट लाखौँ अशुलीपछि फरार…

दियो पोस्ट  

काठमाडौं । अभाव र बाध्यताले विदेशिएका युवाहरु विदेशमा पुगेपछि २० घण्टाभन्दा बढी काम गरेर रेमिट्यान्स पठाउँछन् । त्यही रेमिट्यान्सबाट नेपाल सरकारले कर उठाउँछ । रेमिट्यान्सकै भरमा विदेशिएका युवाको घर चल्छ । यसरी विदेशिने युवालाई नेपालमै रहेका म्यानपावरले चरम रुपमा ठगी गरिरहेको समाचार त हामीले पटक पटक सुनेका छौँ । तर, रोजगारीका शिलशिलामा खाडी मुलुक पुगेका नेपालीहरुलाई ठगी गर्न दलालहरुले विदेशमै समेत कम्पनी खडा गरेर नेपाली युवामाथि ठगी गरिरहेकाे घटना भने त्यति सुनिएकाे थिएन ।

रोजगारीको लागि दुबई पुगेका २० भन्दा बढी युवाहरुलाई माल्टा पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेर दलालहरु फरार भएको पाइएको छ । संयुक्त अरब इमिरेट्स ‘युएई’ दुबईमा रोजगारीका लागि पुगेका २० युवाबाट लाखौँ रुपैयाँ ठगी गरेर युरो वेस्टर्न एचआर कन्सल्टेन्सी एलएसली नामक कम्पनिका संचालकहरु उमेश पन्त र शान्त तामाङ फरार भएका छन् ।

तामाङ र पन्तले प्रति व्यक्ति ३ हजार दिहरामदेखि ५ हजार दिहरामसम्म गरि २० लाख नेपाली रुपैयाँसम्म असुली गरेर फरार भएको एक पीडितले दियोपोस्टलाई बताए ।

पीडितहरुका अनुसार ठगी गर्ने प्रमुख नाइके पन्त श्रीमतीसहित दुबईमै बस्दै आएका छन् । तर, प्रहरीमा उजुरीपरेपछि उनीबारे खोजविन हुँदा सन् २०२१ मै दुबईबाट बाहिर गएको रेकर्ड भेटिएको बताइएको छ । उनी दुबईमा अवैध रुपमा बसेको र उनले संचालन गरेको कार्यालयमा समेत उनी नभेटिएको पीडितहरुको गुनासो छ ।

‘हामीले फोन गर्दा उसको फोन पनि लाग्दैन । प्रहरीमा रिपोर्ट गर्यौँ । तर, प्रहरीले पनि खोजी गर्न सकेको छैन,’ दियोपोस्टको सम्पर्कमा आएका एक पीडितले भने,‘यसले नेपालीलाई मात्रै होइन । भारतीय नागरिकलाई पनि ठगी गरेको छ ।’
तनहु घर भएका पन्तले ठगी धन्दामा आफ्नी श्रीमती रुपा धिताललाई समेत ठगी धन्दामा प्रयोग गर्ने गरेको पीडितहरुले आरोप लगाएका छन् ।

प्राप्त कागजात अनुसार पन्त दम्पत्तिले फस्ट ईन्स्टलमेन्ट भन्दै प्रति व्यक्ति ३ हजार दिहरामदेखि ५ हजार दिहरामसम्म असुली गरेका छन् ।

‘हामीले पैसा दिएको २ महिनापछि उनीहरु सम्पर्क विहिन भए । हामी दुबईको अबुधावीस्थित अफिसमा गयौँ तर, त्यो मान्छे अफिसमा थिएन । यो मान्छे त नटवरलाल पो रहेछ ।’ अर्का एक पीडितले दियोपोस्टसँग भने ।

यस विषयमा प्रतिक्रिया लिन पन्तको ह्वाट्स एप नम्बरमा सम्पर्क गर्दा उनको फोन उठेन । प्रतिक्रियाको अपेक्षासहित प्रश्न गर्दा उनले प्रश्नको जवाफ दिएनन् ।

सम्बन्धित खबर