
काठमाडौं । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपिकृष्ण न्यौपानेले उद्योग टाट पल्टाएर ‘फरार’ भएको पाइएको छ । उनी सम्पर्क विहिन भएपछि उद्योगमा कार्यरत चार वटै ट्रेड युनियनले ज्ञापन पत्र बुझाएका छन् ।
कोइला अभावका कारण गत असोज १४ गतेदेखि बन्द अवस्थामा रहेको उद्योग अलपत्र पारेर उद्योगका महाप्रबन्धक उद्योग बाहिर रहेकोले २ दिन भित्र उद्योगमा उपस्थित गराउन माग गरेका छन् । त्यस्तै चालु रहेको उद्योग कच्चा पदार्थको अभाव देखाएर बन्द गरि मजदुर तथा कर्मचारीको रोजी रोटी माथि खेलबाड गरेकाले तुरुन्त सञ्चालनमा ल्याउन माग गरेका छन् ।
ज्ञापन पत्रमा उल्लेख भए अनुसार उद्योग भित्र अतिथि सत्कार, सवारी दुरुपयोग तथा अनावश्यक खर्चहरु समेत अत्याधिक छ । त्यसलाई कटौती गर्नुपर्ने, लेखाबाट दैनिक खर्च आम्दानीको विवरण सार्वजनिक हुनुपर्ने र कवाडी लिलाम विक्री भएको अनियमितता छानबीन कमिटिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राखेका छन् ।
ज्ञापन पत्रमा समग्र उद्योग ट्रेड युनियनका अध्यक्ष राधेकुमार कोइराला, नेपाल कारखाना श्रमिक संघका सचिव बालचन्द्र गुरुङ, अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष विशेश्वर पाल र नेपाल औद्योगिक मजदुर संगठनका अध्यक्ष महाविर चौधरीले हस्ताक्षर गरेका छन् ।