जाँचपासै नगरिएको कोइला प्रयोग गरेर उदयपुर सिमेन्ट ध्वस्त बनाउँदै महाप्रबन्धक न्यौपाने

दियो पोस्ट  

काठमाडौं । महाप्रबन्धक गोपिकृष्ण न्यौपानेले व्यवस्थापकीय नेतृत्व गर्न नसकेपछि बन्द भएको उदयपुर सिमेन्ट उद्योग आजदेखि खुल्ने हल्ला गरिएपनि त्यसले उद्योगलाई गम्भिर असर पर्ने देखिएको छ ।

कोइला अभाव भएपछि दशैंअघि देखि नै उत्पादन बन्द भएको उद्योग संचालन गर्नुको सट्टा महाप्रबन्धक न्यौपाने उद्योग नै छाडेर भागेका थिए । उनी भागेपछि चार वटै ट्रेड युनियन संगठनले ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र दियोपोस्ट डटकमसहित विभिन्न संचार माध्यममा खबर बनेर आएपछि हस्याङ फस्याङ गर्दै शनिबार राती नै उदयपुर सिमेन्ट उद्योगको क्वार्टर पुगेका न्यौपानेले आजैदेखि सिमेन्ट उत्पादन सुचारु हुने बताएका छन् । तर, आजदेखि उत्पादन गर्नका लागि उद्योगसँग स्टक कोइला छैन ।

न्यौपानेले एक दैनिक पत्रिकामा दिएको बयान अनुसार उद्योगमा जम्मा १५० टन कोइला छ । तर, १२५ टन एकैदिनमा खपत हुने उनैले बताएका छन् । विगत ६ महिनादेखि स्टक अभावका कारण उद्योग लथालिंग भएको थियो । उद्योगले अयात गर्ने कोइला जाँचपास गर्न ३ दिन लाग्छ । तर, जाँचपासै नगरिएको चिसो कोइला सिमेन्ट उत्पादन गर्ने मेसिनमा राखिएमा मेसिन नै खराब हुने विज्ञहरु बताउँछन् ।

२० हजार टन कोइला किन्ने सम्झौता भएपछि उक्त कोइलाको बक्यौता रकम २६ करोड भुक्तानी गर्न नसकेपछि कोइला आउन सकेको छैन ।

अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष विशेश्वर पालका अनुसार बन्द भएको उद्योग चलाउँदा प्रत्येक पटक १२–१३ लाख रुपैयाँ अतिरिक्त खर्च बढ्छ ।

उनले एक दैनिक पत्रिकामा दिएको बयान अनुसार बन्द भएको उद्योगको मेसिनलाई जिेल खर्चेर तीन घण्टासम्म फायरिङ गर्नुपर्छ । अरु मेसिनरी पनि चलाउँदा प्रत्येक पटक १२÷१३ लाख रुपैयाँ खर्च हुन्छ ।

स्रोतका अनुसार कमसल कोइला खरिद गरि उद्योगको मेसिन नै खराब पार्ने धन्दामा महाप्रबन्धक न्यौपाने लागेका छन् । उद्योगलाई निजिकरण गर्ने उद्देश्यसहित भित्रिएका न्यौपानेकै निमन्त्रणमा केहीदिन अघि चिनियाँ सिमेन्ट उद्योग ह्वासिन नारायणी प्रा.लीका सीईओ चिनियाँ नागरिक उद्योग भ्रमणमा आएका थिए ।