काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जानकारी गराएरै आफू चुनाव नलडेको बताएका छन्।
पूर्वप्रधानमन्त्रीहरू सबै लर्को लागेर अब पनि संसदमा गइरहनुको औचित्य नहुने भएकोले आफूले चुनाव नलडेर त्याग गरेको र त्याग गर्ने व्यक्ति महान हुने पनि भट्टराईले बताए।
भट्टराईले त्याग गर्ने नेताका रूपमा गणेशमान सिंहको उदाहरण पेश गर्दै सिंहले प्रधानमन्त्रीको अफर स्वीकार नगरेको पनि बताए।
‘अब हामीले नयाँ पुस्तालाई विस्तारै अगाडि ल्याउनुपर्छ। ५ वर्ष स्थिर सरकार र विकास तथा समृद्धि दिनुपर्छ,’ काठमाडौं ७ मा आज भएको कार्यक्रममा उनले भने, ‘नयाँ पुस्तालाई हस्तान्तरण गर्न मैले चुनाव नलडेको हुँ। कांग्रेस-माओवादी-एकीकृत समाजवादीका नेताहरूलाई जानकारी गराएरै चुनाव नलडेको हुँ।’
भट्टराईले राजनीतिमा युवा पुस्ता आउनुपर्ने पनि बताएका थिए। यहाँ भट्टराईकी छोरीसमेत रहेकी समाजवादीकी नेता मानुषी यमी भट्टराई सत्ता गठबन्धनकी साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छिन्।
भट्टराईले सत्ता गठबन्धनलाई मंसिर ४ को चुनावमा जिताएर फेरि पाँच वर्ष स्थिर सरकार बन्ने अवस्थामा लैजानुपर्ने बताए। उनले निर्वाचिन जितेर सुशासन र समृद्धिका लागि काम गर्नुपर्ने पनि बताएका थिए।
उनले प्रतिगामी शक्तिहरूले टाउको उठाउन थालेकोले आफूहरू मिलेको पनि बताएका थिए।