यी हुन् चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष सात नेता, ली चियाङ प्रधानमन्त्री बन्ने

दियो पोस्ट  

काठमाडौं । चीनका सर्वोच्च नेता सी चिनफिङले आगामी पाँच वर्षका लागि सात सदस्यीय स्थायी समिति सार्वजनिक गरेका छन्। आफ्नो तेस्रो कार्यकालका लागि सीले उदाउँदा नेताहरु ली चियाङ, ली सी, तिङ सुइसियाङ र काइ चीलाई स्थायी समितिमा बढुवा गरेका हुन्।

त्यस्तै वाङ हुनिङ र चाओ लेची पनि स्थायी समितिमा छन्। यी नयाँ अनुहारलाई स्थायी समितिमा ल्याएर सीले आफ्नो तेस्रो कार्यकालको आधार तयार गरेका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशन सकिएको भोलिपल्ट आइतबार यी नेताहरुलाई सीले ग्रेट हल अफ द पिपुलमा पत्रकार सम्मेलनमा ल्याएका हुन्।

सिन्ह्वाका अनुसार पार्टीको वरीयताक्रम यसप्रकार छः महासचिव सी, ६९, ली चियाङ, ६३, चाओ लेची, ६५, वाङ हुनिङ, ६७, काइ ची, ६६, तिङ सुइसियाङ,६० र ली सी ६६ छन्। यसको अर्थ ली चियाङ प्रधानमन्त्री बन्ने छन्। काइ ची पार्टी सचिवालयको प्रथम सचिव अर्थात् पार्टी सञ्चालनका लागि जिम्मेवार हुनेछन्।

तेस्रो स्थानका चाओ लेची राष्ट्रिय जनकंग्रेस अर्थात्, संसदको अध्यक्ष हुनेछन्। वाङ हुनिङ सल्लाहकार समितिको अध्यक्ष हुनेछन्। ली सी भ्रष्टाचारविरोधी सेन्ट्रल कमिसन फर डिसिप्लिन इन्स्पेक्सनका प्रमुख हुनेछन्।