तीनवटा जहाज खरिद प्रस्ताव मन्त्रिपरिषद्मा

दियोपोस्ट संवाददाता

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमकालागि तीनवटा जहाज किन्ने तयारी थालेको छ । लगातार घाटामा गएको निगमलाई उस्काउन तीनवटा जहाज आवश्यक परेको भन्दै सरकारले त्यस्को तयारी अगाडि बढाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले निगमकालागि तीनवटा जहाज खरिद प्रक्रिया अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयसँग प्रस्ताव मागेको थियो । मन्त्रालयले सो प्रस्ताव एक साता अघि मन्त्रिपरिषद्मा पठाएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले प्रधानमन्त्री दाहाल अमेरिका र चीन भ्रमण जानु अघि सिंहदरबार पुगेर तीनवटा विमान खरिद गर्नुपर्ने प्रस्ताव गरेका थिए । सोही प्रस्तावका आधारमा पर्यटनमन्त्री सुदन किरातीलाई प्रधानमन्त्रीले जहान खरिदको प्रस्ताव ल्याउन निर्देशन दिएका थिए । सोहीबमोजिम मन्त्रालयले जहाज खरिदको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमा पठाएको हो । एयरबस ३२० र वाइडबडी ए ३३० जहाज खरिदमा लिएको ऋणको किस्ता र ब्याज समयमा भुत्तानी गर्न नसकिरहेको बेला सरकारले थप तीनवटा जहाज खरिद गरेर अन्तर्राष्ट्रिय उडानमा लगाउने तयारी गरेको हो । मन्त्रालयले दुई साता अघि जहाज खरिद गर्ने विषयमा औपचारिक रुपमा छलफल गरेको स्रोतको दाबी छ । प्रधानमन्त्री कार्यालयले समेत जहाज खरिद गर्ने विषयमा राय मागेको थियो ।

मन्त्रालयले नेपालको प्रचलित कानुनअनुसार निगमबाट प्रक्रिया अघि बढाउन मिल्ने राय मागिएको थियो । ‘विमानको खरिदको विषयमा हामीलाई राय मागिएको थियो । मन्त्रालयमा छलफल गरेर प्रचलित कानुनअनुसार नेपाल वायुसेवा निगमबाटै खरिद गर्न मिल्ने प्रक्रिया पनि उतैबाट अघि बढाउन सकिने राय दिएका थियौं,’ मन्त्रालयका एक उच्च अधिकारीले भने । उनका अनुसार निगमका कार्यकारी अध्यक्ष अधिकारीले जहाज किन्ने विषयमा प्रधानमन्त्रीलाई ‘कन्भिन्स’ गरेका थिए । करिब तीनसात अघि निगमका कार्यकारी अध्यक्ष अधिकारीले प्रधानमन्त्री दाहाल र पर्यटनमन्त्री किरातीलाई राखेर निगमको वर्तमान अवस्था र दायित्वबारे ब्रिफिङ गर्दै तीनवटा जहाज खरिद गर्नुपर्ने आवश्यकता औैल्याएका थिए ।

प्रधामन्त्रीले त्यसै दिन जहाज खरिद गर्न सरकार तयार रहेको बताउँदै खरिद प्रस्ताव पठाउन मन्त्रीलाई निर्देशन दिएको स्रोतको भनाइ छ । सरकारले राष्ट्रिय बैंकको पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा बनेको नेपाल वायुसेवा निगमको संरचनगत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति २०८० को प्रतिवेदनले दिएको रिपोर्टमा सोल्टी होटलको सेयर बेचेर जहाज किन्ने सुझाएको थियो ।

आजको नागरिक दैनिका पत्रिकामा खबर छ ।