पर्यटन धान्ने क्षमता ३५ लाख, लक्ष्य धने १० लाख

दियो पोस्ट  

काठमाडौं । मुलुकमा वार्षिक ३५ लाख पर्यटक धान्न सक्ने पूर्वधार रहे पनि सरकारले क्षमताको एकतिहाइ कम पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सरकारले सन् २०२३ मा १० लाख मात्र पर्यटक भित्राउने लक्ष्य राखेकाले होटल व्यवसायीहरु उत्साहित हुन नसकेको बताएका छन् ।

हामी ३५ लाख पर्यटकलाई सेवा दिन तयार छौं तर सरकार १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको भन्दै रमाएर बसेको छ । होटल एसोसियसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले भने, ‘मुलुकमा पर्यटकलाई सेवा दिन सक्ने क्षमता बढेर कहाँँ पुगिसक्यो सरकार भने कोभिड महामारीअघिको पूर्वधारमा आधारित भई तय गरिएको लक्ष्य बोकेर बसेको छ ।’ उनले थपे, ‘यसरी हाम्रो व्यवसाय कसरी चल्छ ?

अध्यक्ष शाहले यो महिना कति पर्यटक आए, कोभिडअघिको जति पुग्न लाग्यो भनेर खुसी भएर बस्ने समय नभएको बताए । उनले अहिले होटल व्यवसायले वार्षिक ३५ लाख पर्यटकलाई उनीहरुले भने जस्तो उत्कृष्ट सेवा, सुविधा दिन सक्ने क्षमता वृद्धि गरिसक्दा पनि सरकारले पर्यटन क्षेत्रको आधारभूत अध्ययन गरी त्यस अनुरुपको नीति तथा कार्ययोजना बनाउन नसकेको आरोप लगाए ।

कोभिड महामारीको समयमा मुलुकमा पर्यटक नभित्रिए पनि निजी क्षेत्रको होटल, रेष्टुरेन्ट जस्ता पूर्वाधारहरु बनाइ रहेका थिए । यसको मतलब महामारीको समयमा सबै विकासका काम, कार्यक्रमहरु ठप्प हुँदा पनि पर्यटनसँग सम्बन्धित पूर्वाधारहरु धमाधम निमार्ण भइरहेका थिए भन्ने हो । छिमेकी मुलुक भारत र चीनबाट अरु मुलुकमा जाने पर्यटकको दुई प्रतिशतमात्र नेपालमा भित्र्याउन सकेको भए पर्यटन व्यवसाय धरापमा पर्ने थिएन, अध्यक्ष शाहको तर्क छ । सरकारले कोभिड पछि पर्यटन क्षेत्रको अध्ययन नगरी नीति, योजना तथा कार्यक्रमहरु घोषणा गर्ने हतार गर्दा पर्यटन क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको उनले बताउए ।

सरकाले सन् २०२३ देखि २०३३ सम्म पर्यटक दशक घोषणा गरेको छ । त्यसको नौ महिना भन्दा बढी बितिसक्दा पनि ठोस कार्यक्रम सार्वजनिक नगरेको हुँदा पर्यटन क्षेत्रमा अपेक्षित सुधार नआएको व्यवसायीहरुको बुझाइ छ । ‘पर्यटन दशक केका लागि घोषणा गरिएको हो ? नौ महिना बितिसक्दा पनि यसको सचिवालय र योजना सम्म तय नगरिनुको कारण के हो ? ‘अध्यक्ष शाहले भने, ‘अब सन् २०२३ देखि होइन, २०२४ देखि २०३४ सम्म हुनुप¥यो ।’

यस्तो सिद्धार्थ रिजनल होटल संघ रुपन्देहीका सहासचिव रवीन्द्र शर्माले मुलुकमा पर्यटक ल्याउने पूर्वाधार कम भएको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र आउने जहाजले ल्याएका पर्यटनकले मात्र होटल तथा अन्य पर्यटन व्यवसाय धान्न नसक्ने बताए । भैरवाह र पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको हवाई कनेक्टिभिटी नबढाउँदा पनि व्यवसायीहरु थप मर्कामा परेको उनले बताए । ‘भैरहवा र पोखराको अन्र्तराष्ट्रिय विमानस्थलको सम्भावना देखेर अर्बै ऋण लिएर होटल व्यवसाय खोलेका छन् । अहिलेसम्म एउटैै अन्तर्राष्ट्रिय उडान नियमित गर्न सकेको छैन् ।’ उनले थपे, ‘बैंकको ऋणको ब्याजले व्यवसायीहरु मर्ने दिन आइसक्यो, सरकारले व्यवसायी मार्न लागेको हो ?

आजको नागरिक दैनिक पत्रिकामा खबर छ ।