आयात वृद्धिसँगै अर्थतन्त्रमा सुधारको संकेत, निर्यात अझै ऋणात्मक

दियो पोस्ट  

काठमाडौं । बाह्य अर्थतन्त्रका सूचकमा सुधार भएसँगै आन्तरिक अर्थतन्त्रको सूचकमा पनि क्रमश: सुधारको संकेत देखिएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनदेखि खुम्चिरहेको आयात तेस्रो महिना अर्थात् असोज महिनामा आएर आयातमा वृद्धि भएसँगै सुधारको संकेत देखिएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको तेस्रो महिनामा मात्रै आयातमा वृद्धि भएको जनाएको छ । चालु आवको साउन र भदौमा आयात पनि ऋणात्मक हुँदै आइरहेको थियो । जसका कारणले मुलुकको राजस्व संकलनमा पनि प्रत्यक्ष असर पार्दै आइरहेको थियो । असोज दशैं/तिहारलगायत पर्वलाई लक्षित गरेर वस्तु तथा सामानको आयात वृद्धि भएसँगै आन्तरिक अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ ।

नेपाल अर्थतन्त्र आयातित वस्तुमा लगाइने करमा निर्भर रहँदै आएको छ । भन्सार विभाग अनुसार वर्ष २०७९/८० साउनदेखि असोजसम्मको तीन महिनाको अवधिमा चार खर्ब रुपैयाँको वस्तु तथा सामान आयत भएको थियो ।

चालु आवको सोही अवधिमा गरिएको आयता १.६९ प्रतिशतले वृद्धि भएर चार खर्ब सात अर्ब रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । चालु आवको असोजमा मात्रै विदेशी मुलुकबाट डेढ खर्ब रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ ।

चालु आवको तीन महिनाको अवधिमा नेपालमा आयात गरिने वस्तु तथा सेवामा केहि बढे पनि नेपालबाट विदेशी मुलुकमा हुने नियात भने अझै पनि खुम्चिएकै छ ।

विभागका अनुसार नेपालले आव २०७९/८० को तीन महिनाको अवधिमा ४१ अर्ब ८२ करोड रुपैयाँको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात गरेको थियो । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा नेपालबाट भने विदेशी मुलुकमा हुने निर्यात २.२६ प्रतिशतले घटेर ४० अर्ब ८७ करोड रुपैयाँमा सिमित भएको छ ।

यो सामाचार आजको नागरिक दैनिकमा छ ।