पेट्रोलियमा पर्दाथको खपत बढ्यो

दियो पोस्ट  

काठमाडौं । नेपालीको महान पर्व दसैंमा बजारमा पेट्रोलियम पदार्थको खपत बढेको छ ।

चाडपर्वमा सवारीसाधन धेरै चल्ने हुँदा बजारमा माग बढेसँगै पेट्रोलियम पदार्थको खपत बढेको हो ।

चाडपर्व मनाउन काठमाडौं उपत्यकासँगै अन्य सहरी क्षेत्रबाट ठुलो सङ्ख्यामा सवारीसाधन बाहिरी जिल्लामा गएकाले पनि डिजेल, पेट्रोलको माग बढेर खपतमा वृद्धि भएको हो । अन्य समयको तुलनामा चाडपर्वका बेला सवारीसाधन बढी गुड्ने भएकाले पनि इन्धनको खपत बढी हुनेगर्छ । दसैं मनाउन सहरबाट गाउँगाउँमा अधिकाश मानिस जाने हुँदा सवारीसाधनसँगै जहाजको उडान धेरै हुने गर्छ ।

नेपाल आयल निगमका अनुुसार गत वर्षको दसैंको तुलनामा यस वर्षको दसैंमा डिजेल, पेट्रोलको खपतमा वृद्धि भएको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले दसैंमा इन्धनको खपतमा वृद्धि भएको जानकारी दिए । चाडपर्वमा सवारीसाधन धेरै चल्ने हुँदा डिजेल, पेट्रोल र हवाई इन्धनको माग उच्च हुँदा खपतमा समेत वृद्धि भएको उनको भनाइ छ । गत वर्षको दसैंको तुलनामा यस वर्ष डिजेल र पेट्रोलको खपत बढेको उनको भनाइ छ ।

निगमका अनुसार गत वर्ष असोज १० देखि २३ सम्म दुई करोड ६९ लाख ४४ हजार ६०७ लिटर पेट्रोल खपत भएकामा यस वर्ष असोज २८ देखि कात्तिक ११ सम्म दुई करोड ९८ लाख ५८ हजार ६५८ लिटर खपत भएको छ ।

यस्तै गत वर्षको दसैं अवधिमा दुई करोड ९७ लाख २८ हजार ९९४ लिटर डिजेल खपत भएकामा यस वर्ष तीन करोड ७७ लाख आठ हजार ९४३ लिटर खपत भएको निगमले जनाएको छ । सामान्य अवस्थाको तुलनामा दसैंका बेला दोब्बर बढी डिजेल खपत हुनेगर्छ ।
निगमका अनुसार हाल बजारमा मासिक पेट्रोल ५६ हजार ४२३ किलोलिटर, डिजेल एक लाख १७ हजार २६४ किलोलिटर, मटितेल एक हजार ८३ किलोलिटर, हवाई इन्धन १४ हजार ४४७ किलोलिटर र खाना पकाउने एलपी ग्यास ४२ हजार ६८१ मेट्रिक टन खपत हुने गरेको छ ।

यसैबिच भन्सार विभागका तथ्याङ्क अनुुसार चालु आर्थिक वर्षको तीन महिनामा ६३ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ ( डिजेल, पेट्रोल, हवाई इन्धन, मटितेल र ग्यास ) आयात भएको छ ।

आजको गोरखापत्र पत्रिकामा खबर छ ।

TATA ADD