कारबाहीमा परेका धादिङका सिडिओ पाण्डेले तिब्बतीयनलाई नागरिकता बेचेकाे खुलाशा

दियोपोस्ट संवाददाता

काठमाडौं । धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे गृहमन्त्रालय तानिएका छन् । प्राकृतिक विपत्तिमा कमजोर कार्यक्षमता देखिएको भन्दै उनको जिम्मेवारी खोसिएको हो । घनघोर वर्षासँगै आएको बाढि पहिरोले निम्त्याएको जनधनको क्षति न्यूनिकरणमा राहत तथा उद्दारमा शसक्त भूमिका निर्वाह गर्न नसकेको उनीमाथि आरोप छ ।

तर, उनी प्रमुख जिल्ला अधिकारी पदबाट हुत्याइनुमा यो मात्रै कारण छैन । उनीमाथि तिब्बती नागरिकलाई नेपाली नागरिकता बेचेको गम्भीर आरोप लागेको छ । यो प्रकरणलाईसमेत जोडेर उनी धादिङबाट लखेटिएको खुलेको हो ।

पाण्डेले धादिङमा रहँदा नेपाली नागरिकता बेच्ने एउटा गिरोहसंग साँठगाँठ गरेर आर्थिक लाभ लिएर नेपाली नागरिकता बेचेकाे विषय बाहिरिएको छ । गएको गत जेष्ठ २१ गते जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारी पदमा हाजिर भएका पाण्डेले आफू हाजिर भएको एक महिनामै कर्मचारीमार्फत रकम लिएर तिब्बतीयन नागरिकलाई वंशजको नेपाली नागरिकता दिएको खुलेको हो ।

जुवा सम्बन्धी कसुरमा पक्राउ परेका तिब्बती नागरिक सोनाम तामाङ भन्ने सेनामको साथबाट गत असोज ४ गते नेपाली नागरिकता भेटिएको थियो । जिल्ला प्रशासन कार्यालय धादिङबाट जारी भएको २६—०१—८१—०३२१७ नम्बरको नेपाली नागरिकता भेटिएको थियो । नक्कली बाबु समेत खडा गरि गत असार ६ गते सोनामको नाममा सक्कली नागरिकता जारी गरिदिएको उपत्यका अनुसन्धान कार्यालयले अनुसन्धानको क्रममा भेटेको छ ।

नागरिकता पाउने सोनामले जिल्ला प्रशासन कार्यालय धादिङवेशी नै नगई नेपाली नागरिकता दिलाइदिने कर्मचारीसहितलाई प्रहरीले पक्राउ गरेको छ । तर, कमजोर कार्यक्षमताका कारण जिम्मेवारी खोसिएका प्रमुख जिल्ला अधिकारी पाण्डेलाई भने कुनै कारबाही गरिएको छैन । जबकी नागरिकता जारी गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले नेत्रावती गाउँपालिका वडा नम्बर १ घर भई काडमाडौंको मनमैजु बस्दै आएका मदन बहादुर तामाङ, खनियावास ५ घर भई सोह्रखुट्टे बस्ने रामेश्वर रिजाल, चिनको तिब्बत स्थित हिन्दे घर भई हाल काठमाडौं ६ बस्ने छिरिङ ढुन्डुप र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ४ घर भई काठमाडौंको गोकर्णेश्वर ८ बस्ने छिरिङ वाङ्दानी शेर्पालाई पक्राउ गरेको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालयको हिरासतमा जिल्ला प्रशासन कार्यालयकै कर्मचारी नायब सुब्बा कृष्ण प्रसाद थपलियालाई पनि राखिएको छ ।

४ लाखमा भएको डिल
नेपाली नागरिकता बनाउने सोनाम तामाङले छिरिङ ढुन्डुपलाई बौद्दमा भेटेर नेपाली नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी समेत बनाएर नेपाली चार लाख रुपैयाँ दिएका थिए । सोनामले दिएको चार लाख रुपैयाँ मध्ये ५० हजार रुपैयाँ आफूले राखी तीन लाख रुपैयाँ रामेश्वर रिजाललाई दिएका थिए । छिरिङ वाङ्दिनले आफूसँग रहेको ५० हजार मध्ये ५ हजार रुपैयाँ भने आफूले राखी ४५ हजार रुपैयाँ राष्ट्रिय परिचय पत्र बनाउनका लागि पुन रिजाललाई नै दिएका थिए ।

रामेश्वरले आफूसँग लिएको ३ लाख ४५ हजार रुपैयाँ मध्ये १ लाख ४५ हजार रुपैयाँ आफूसँग राखी बाँकी २ लाख रुपैयाँ भने मदनबहादुर तामाङलाई दिएका थिए । मदन बहादुर तामाङले पाएको दुई लाख मध्ये ५० हजार रुपैयाँ जिल्ला प्रशासन कार्यालयका नासु कृष्ण प्रसाद थपलियालाई दिएका थिए । त्यो रकम जिल्ला प्रशासन कार्यलयका नासु थपलिया हुँदै प्रमुख जिल्ला अधिकारीको खल्तीसम्मै पुगेको स्रोतले बतायो ।

थपलियाको हिमचिम प्रमुख जिल्ला अधिकारी पाण्डेसँग भएपनि उनलाई भने अनुसन्धानको दायरामा समेत ल्याइएको छैन । सोनामको सक्कली बाबु काबसान टासी भएपनि जिल्ला प्रशासन कार्यालय धादिङबाट भने गत असार ६ गते नक्कली बाबु नेत्रावती डबजोङ गाउँपालिका १ ठेगाना भएको हर्कमान तामाङ खडा गरिएको छ ।

कर्मचारीको भागाभाग
जिल्ला प्रशासन कार्यलय धादिङमा यो प्रकरणको खैलाबैलाले कर्मचारीको भागाभाग नै मच्चिएको खुलेको छ । यो प्रकरणमा फस्न सक्ने डरकै कारण १ महिना अघि प्रशासकिय अधिकृत घरमा श्राद्ध छ भन्दै विदामा बसेका थिए । नागरिकता फाँटका नासु पदका व्यक्तिहरुसमेत कार्यलयमा भेटिन छाडेका थिए । कीर्ते गरेर तिब्बतका नागरिकलाई बंशज आधारमा नेपाली नागरिकता बनाइदिएपछि यसको नेक्सस आफूहरुतिरसमेत सोझिने डरले कर्मचारीहरु विभिन्न बहाना बनाउँदै विदामा बसेका हुन् । तर यो प्रकरणको सुई तत्कालिन प्रमुख जिल्ला अधिकारी पाण्डेतिरै सोझिएको छ ।

अपराध छोप्न गृहसम्म नै सेटिङ
यो प्रकरणमा पाण्डेको संलग्नता ढाकछोप गर्न गृहमन्त्रालयसम्म नै छलफल भएको छ । केही दिनअघि उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउको तयारी गरेपछि पाण्डेको विषयमा उच्च तहमा छलफल भएको थियो । स्रोतका अनुसार गृहमन्त्रालयमासमेत यस विषयमा छलफल भएको थियो । तर उनीविरुद्ध मुद्दा भने नचलाउने निर्णय गुपचुप रुपमा भयो । झूटा ब्यहोरा दिई नक्कली नागरिकता लिनेलाई मात्रै होइन नागरिकता जारी गर्ने प्रमुख जिल्ला अधिकारी समेत कारबाहीको भागिदार हुने कानुनी व्यवस्था छ ।

दोषी देखिए कारबाही भोग्छु–पाण्डे
धादिङबाट लखेटिएर गृह मन्त्रालयतिर हुत्याइएका पाण्डेले यो प्रकरणमा आफू दोषी ठहर भएमा कारबाही भोग्न तयार रहेको बताएका छन् । तर दियोपोष्टले केही प्रमाणहरु भन्न थलेपछि उनले तर्किएर फोन राखिदिए । दियोपोष्टसँग कुरा गर्दै पाण्डे भन्छन्, ‘यसबारे मलाई त्यति धेरै थाहा छैन, अनुसन्धानले दोषी ठहर गरेमा कारबाही भोग्न तयार छु ।’

पाण्डेले नागरिकता जारी गर्ने प्रमुख प्रशासकीय अधिकृत छत्रबहादुर अधिकारीकोसमेत बचाउ गरेका छन् । छत्रबहादुरले नागरिकता जारी गरेको भन्ने प्रमाणित हुने वित्तिकै आफूलाई अप्ठ्यारो पर्ने देखेका उनले नागरिकता जारी गर्ने अधिकारी छत्रबहादुरसमेतलाई यो प्रकरणबाट उम्काउने प्रयास गरेका हुन् । नागरिकता जारी गर्ने अधिकृत छत्रबहादुरलाई तपाइकै संरक्षण छ रे नि त ? भन्ने दियोपोष्टको प्रश्नमा उनले छत्रबहादुरलेसमेत आफूले हस्ताक्षर नगरको बताएको भनेका छन् ।

उनी भन्छन्, ‘छत्रबहादुर अधिकारीलेसमेत आफूले नागरिकतामा हस्ताक्षर नगरेको भनिरहेका छन्, यसमा कहाँबाट कसरी कमजोरी भयो त्यसबारे अनुसन्धान हुँदै छ, अहिलेलाई योभन्दा धेरै कुरा नगरौँ होला है ।’ स्रोतका अनुसार प्रमुख जिल्ला अधिकारीको हेसियतमा रहँदा पाण्डेले नै प्रमुख प्रशासकीय अधिकृत छत्रबहादुरलाई पैसाको प्रलोभनमा फसेर नागरिकता जारी गराउन लगाएका थिए ।