काठमाडौं । सिन्धुपाल्चोककी कुमारी तामाङको परिवार १९ वर्षअघि काठमाडौंको शंखमुलमा भाडामा बस्थे । तर परिवारमा सदस्य संख्या बढ्दै गएपछि घरबेटीले उनीहरुलाई घरबाट निकालिदिए, आर्थिक संकट पनि थपिँदै गयो । अरुको घर भाडामा लिएर बस्ने हैसियत नभएकै कारण उनीहरु थापाथलिमा रहेको सुकुम्बासी बस्तीमा गए, त्यहिँ एउटा टहरो बनाएर दुखजेलो बस्न थाले । अर्थात कुमारी र उनको परिवारको १९ वटा बर्खा यहि सुकुम्बासी बस्तीमा गुज्रिसकेको छ ।
बुधबार उनै कुमारी र परिवारका अरु सदस्यहरु टहरो नजिकै ओभानो ढुंगा र माटो संकलन गरिरहेको अवस्थामा भेटिए । बाढीले बगाएर ल्याएको हिलो छोप्न उनीहरुले ओभानो ढुंगा र माटो आफ्नो टहरोमा ओसार्दै थिए । यो कामका लागि कुमारीलाई उनका श्रीमानले सहयोग गर्दै थिए । छोरी ज्वाईंसहित परिवारका अरु सदस्यहरु पनि हिलाम्मे कपडा धुनेदेखि हिलो पखाल्ने काम गर्दै थिए ।
कुमारीकी एउटी छोरी काममा लागेका सबैलाई हिलोमाथि राखिएको ग्याँस चुलोमा चिया पकाउँदै थिइन् । ८ जनाको परिवारसँग बस्दै आएकी कुमारीलाई अहिले बाढीले ल्याएको हिलो पखाल्नै धौ–धौ छ । उनको टहरोमा ओभानो केही भेटिदैन ।
‘बाढी अस्ति एक पटक पनि आएको थियो । त्यतिखेर त त्यति सारो विगार गरेन । तर यो पटक यत्रो ठूलो आउछ भन्ने सोचेनौं’ कुमारी भन्छिन्, यस्तो थाहा पाएको भए त हामीले मुस्किलले जोडेको सामान सुरक्षित गर्ने थियौं ।’ उनले भनिन्, ‘राति हामी त निदाएका थियौं । यहाँ नजिकै मगर्नी दिदीले पो बाढी आयो भन्दै कराउनुभएपछि बिउझियौँ । निन्द्रा खुल्दा ढोकाबाट पानी पस्न थालिसकेको थियो । भएभरका सामान भिजिसकेका थिए । मान्छे चाहीँ भागेर बच्न सकियो ।’

घनघोर वर्षासँगै आएको बाढीले अझै ठूलो क्षति गर्ने हो कि भन्ने पीरले कुमारीको परिवारलाई अझै पनि छोडेको छैन । हसिली अनुहारकी कुमारी मुस्कुराउँदै भन्छिन्, ‘हामी त त्यो रात जागै बस्यौँ । मेरो त खुट्टा पुरै सुन्निएको छ । धेरै समयसम्म भिजेर होला चिसो भएछ क्यारे ।’
सरकारसँग कुमारीको एउटै अपेक्षा छ, बागमतिमा पर्खाल ।
सरकारले बागमतिमा अग्लो पर्खाल लगाइदिए आफूजस्ता सुकुम्बासी बस्तीमा रहेका सबैलाई राहत हुने उनको भनाई छ । आफैंले काम गरेर गुजारा चलाउन नसक्नेहरुका लागि सरकारले केही न केही गरिदिनुपर्ने उनको अपेक्षा छ । ‘दैनिक ज्याला मजदुरी गरेरै भएपनि हामीहरु त कमाएर दैनिक गुजारा चलाउँला नै । तर यहाँ केही मानिसहरु आफैं गरेर खान नसक्नेहरु पनि छन्’ उनी भन्छिन्, ‘उनीहरुका लागि सरकारले केही न केही राहत प्याकेज ल्याइदिए हुन्थ्यो ।’

बुधबार दियोपोष्टको टोली सुकुम्बासी बस्तीमा पुग्दा कुमारीजस्तै अरु थुपै बाढी प्रभावित नागरिकहरु भेटिए । त्यसमध्ये सुकुम्बासी बस्तिमा भेटिएका डम्बर बहादुर प्रजाले धनमालको क्षति भएपनि मानवीय क्षति नभएकोमा खुशी व्यक्त गरे ।
मकवानपुरको चेपाङ समुदायका प्रजा १८ वर्षदेखि थापाथलिको सुकुम्बासी बस्तीमा बस्दै आएका छन् । उनै प्रजा बाढी आएको दिन अरुभन्दा पहिले ब्यूँझिएर अरुलाई सतर्क गराउँदै हिँडेका थिए । सम्भवत प्रजाले बस्तीमा रहेका अरुलाई अनिन्द्रामै नब्यूँझाएको भए ठूलै मानवीय क्षति बेहोर्नुपर्ने थियो ।
उनी भन्छन्, ‘बस्तीमा बाढी पस्र्दै छ भन्ने थहा पाउने वित्तिकै मैले सबैलाई निन्द्राबाट ब्यूँझाउँदै हिँडे । सबै जनालाई सतर्क गराएँ । बाढी पस्न लाग्यो भनेर सबैलाई निन्द्राबाट ब्यूँझाउन नपाउँदै एकाएक बाढी बस्तिमा पसिहाल्यो ।’

आफूले हतारमा केही कपडा र सामान उठाउन तिर लागेको तर घर नै डुब्नेगरी बाढी पस्न थालेपनि सबै छाडेर भाग्नुपरेको उनी बताउँछन् । प्राकृतिक प्रकोपबाट हुने विपत्तिबाट हरेक वर्ष नेपालले ठूलो जनधनको क्षति बेहोर्दै आइरहनुपरेको छ । यो वर्षको असोज ११ र १२ गतेको घनघोर वर्षाले निम्त्याएको विपत्तिले पनि देशभरको जनजीवन अस्तव्यस्त बनायो । बाढी र पहिरोले १७ अर्ब रुपैयाँभन्दा बढिको क्षति हुन पुग्यो भने यो सामग्री तयार पार्दासम्म २३९ जनाको ज्यान गएको छ । १९ जना अझै हराइरहेका छन् ।

के भन्छन् विज्ञ ?
नेपालका लागि बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्का घटना नौलो होइनन् । कुन समयमा कस्तो विपद् आईपर्न सक्छ भन्ने पूर्व अनुमान लगाउन सकिने अवस्था भएपनि सरकारको संयन्त्र भने त्यति चनाखो देखिँदैनन् । अर्थात सरकारले पूर्वतयारीमा प्रभावकारी संयन्त्र खडा गर्न सकिरहेको छैन ।

आइपर्ने प्राकृतिक प्रकोप र त्यसले निम्त्याउने विपद्लाई बुझ्न नसक्दा ठूलो जनधनको क्षति बेहोरिरहनुपरेको विपद् विज्ञ डा. बसन्त राज अधिकारी बताउँछन् । उनी भन्छन्, ‘विपद् र प्रकोप फरक विषय हुन् । पहिरो जंगलमा गयो भने त्यो प्रकोप हुन्छ, त्यही पहिरो गाउँ, बस्तीमा पसेर बस्तीमा ठूलो क्षति पुर्यायो भने त्यो विपत्त हो । प्रकोपलाई विपद्मा परिणत हुन नदिनु नै हाम्रो मुख्य उदेश्य हुनुपर्छ । तर त्यसो हुन सकिरहेको छैन ।’

जलवायू विज्ञ धरमराज उप्रेती भने अविरल वर्षाका कारण बाढी पहिरो जस्ता विपद् आइपर्नु जलवाय परिवर्तनको नतिजा भएको बताउँछन् । उनका अनुसार केही दिन अघि काठमाडौं लगायत जिल्लामा आएको बाढी जलवायू परिवर्तनको उपज हो । ‘हिजो अस्तिकै कुरा गरौं न, काठमाडौंमै ठूलो बाढीको सामाना गर्नुपर्ने अवस्था आयो । त्यो जलवायू परिवर्तनकै उपज हो । यसको असर हाम्रो समग्र प्रणालीमा परिरहेको छ’, उनले भने, ‘नेपालकै सन्दर्भमा तापक्रम वृद्धिको असर गाउँभन्दा सहरी क्षेत्रमा बढी छ ।’