काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सङ्घीय संसदका प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ)ले प्रधानमन्त्री बालेन्द्र शाहको राजिनामा माग गरेका छन् । प्रधानमन्त्री शाहले संसदप्रति गैरजिम्मेवार व्यवहार देखाएको आरोप लगाउँदै राईले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्।
राइले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहले संसदलाई अपमान गरेको, लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाएको तथा संसदीय मर्यादामाथि आघात पुर्याएको आरोप लगाएका छन् ।
विज्ञप्तिअनुसार, प्रधानमन्त्री शाहले मिति २०८३ वैशाख २८ गते सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गराइरहँदा बीचमै संसदबाट बाहिरिएको र पुनः सभामा नफर्किएको आरोप लगाइएको छ। त्यस्तै वैशाख ३० गते नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा संसदमा अनुपस्थित रहेको तथा प्रतिपक्षी दलहरूले उपस्थितिको माग गर्दा समेत उपस्थित नभएको साम्पाङको भनाइ छ।
साम्पाङले प्रधानमन्त्री आफ्नै कार्यालयबाट संसदका गतिविधि हेरेर बसे पनि सदनमा उपस्थित नभएको दाबी गरेका छन्। साथै, वैशाख ३१ गते नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने संसदीय परम्पराको बेवास्ता गर्दै प्रधानमन्त्री अनुपस्थित रहेको आरोप समेत लगाइएको छ।
विज्ञप्तिमा प्रधानमन्त्रीले अहिलेसम्म संसदमा जनतालाई सम्बोधन नगरेको उल्लेख गर्दै यसले संसदमार्फत जनताको लोकतन्त्रप्रतिको विश्वासमाथि प्रहार गरेको टिप्पणी गरिएको छ।
साम्पाङले संसदमा मर्यादा र थिति बसाल्न नसक्ने प्रधानमन्त्री असक्षम र असफल भएको दाबी गर्दै यस्तो गतिविधिले संसदीय अभ्यासको इतिहासमा “कालो धब्बा” लगाएको बताएका छन्। उनले जनताका प्रश्नको उत्तर दिन नसक्ने प्रवृत्तिले गलत नजिर स्थापित गर्ने चेतावनी दिएका छन्।
त्यस्तै, सरकारले संसदलाई छल्दै अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप लगाउँदै उनले संसदको शक्ति र औचित्य स्मरण गराउन आवश्यक रहेको बताएका छन्। सीमा सुरक्षा, जनताको हित र न्यूनतम जिम्मेवारी पूरा गर्न सरकार असफल भएको आरोप समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।
