रुकुमपूर्व । जिल्लाको भूमे गाउँपालिकामा बजार अनुगमन गरिएको छ । चाडपर्वको समयमा बजारमा गुणस्तरहिन वस्तुको बिक्री वितरण भइरहेको स्थानिय नागरिकबाट गुनासो आएपछि चाडपर्वमा हुने कालोबजारी र म्याद गुज्रिएका सामान बरामद गर्ने उदेश्यले आज सोमबार सहायक प्रमुख जिल्ला अधिकारी जीवन कुमार खड्काको संयोजकत्व र भूमे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवीलाल बि.क को उपस्थितिमा बजार अनुगमन गरिएको हो।
जिल्ला प्रशासन कार्यालय रुकुमपूर्व र भूमे गाउँपालिका, रुकुमकोट उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालय लगायत सरोकारवाला निकायहरुको संयुक्त उपस्थितिमा भूमे गाउँपालसकाको खाबङबजार, काँक्री, लुकुममा रहेका मासु पसल, खाद्यान्न पसल तरकारी पसल, होटेल तथा मदिरा पसल लगायत अन्य पसलहरुमा अनुगमन गरिएको हो।
खाबाङबगर, काँक्री र लुकुममा गरि ३७ ओटा पसलहरु अनुगमन गर्दा म्याद गुज्रिएका १६ हजार ९ सय ५५ रुपैयाँ बराबरको सामान बरामद गरि नस्ट गरिएको छ । साथै मापदण्ड विपरित सञ्चालन गरिएका तिनवटा मासु पसलहरु सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन समिति संयोजक जीवन कुमार खड्काले बताए।
सहायक प्रमुख जिल्ला अधिकारी खड्काका अनुसार व्यवसायीहरुलाई पसल अनुसार मापदण्ड पूरा गर्न निर्देशन गरिएको छ । भने अझै बजार अनुगमनको कामलाई तिव्रता दिइने बताइएको छ । खड्का भने, ‘भूमे गाउँपालिकामा एउटा व्यवसायीले एउटा मात्रै व्यवसाय दर्ता गरेर २ देखि ५, ६ ओटा सम्म व्यवसाय गरेको भेटियाे । अधिकांश पसल तथा व्यवसायले न्यूनतम मापदण्डसमेत पूरा गरेकाे देखिएन ।’
पसलमा मूल्य सूची नराखेको, बिलबिजक जारी र नवीकरण नगरेको धेरैलाई कारबाही समेत गरिएकाे खड्काले बताए ।