काठमाडौं । नेपालीहरूको महान चाड दशैं सुरु भइसकेको छ । ढाढिएका आफन्तहरु जमघट हुने पर्ब दशैमा मिठो मसिनो खानेकुराहरु हाम्रो भान्सामा पाक्छन् । यस्ता खानेकुराहरुमध्यको एक हो माछा मासु । अरु पर्व भन्दा दशैंमा माछा, मासुको प्रयोग अत्याधिक गरिन्छ ।
हामी पनि मासु खाँदा दशैंमा त खाने हो नि भनी आफ्नो स्वास्थ्यको ख्यालै नगरी खाने गर्दछौ । यहि कारण स्वास्थ्यमा विभिन्न समस्याहरु आउछन् । मासु खाएर भन्दापनि खान नजानेर स्वास्थ्यमा समस्या आउने गरेको छ ।
दशैंमा हामीले खान पिनमा ध्यान नदिएमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडापखालालगायत वान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिक जस्ता रोगहरु पैदा हुने गर्दछ ।
दशैंमा मासु खाँदै नखाने भनेर रोक्न सकिँदैन । तर एकै पटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा दिनेबाहेक अन्य केहि पौष्टिक पोषण नपाइने डाक्टर बताउँछन् । पोषण विद्का अनुसार त्यसबाहेक मासु खाँदा केही कुरामा ध्यान दिए यस्ता समस्या हुनबाट बच्न सकिन्छ ।
१. रातो भन्दा सेतो मासु खाने
दशैंमा मासु किन्दा हामी रातो मासु छान्ने गर्दछौ । रातो मासु बढी स्वादिलो हुने सबैको मान्यता त । तर स्वादलाई मात्र ख्याल गरेर मात्र त हुदैन नि । स्वास्थ्यलाई पनि ख्याल गर्नु पर्यो । होईन त ।
रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको खतरा बढ्न सक्छ । यसै पनि रातो मासुमा चिल्लोको मात्रा बढी हुन्छ । यस्तो मासुमा भएको कोलस्ट्रोल र फ्याटी एसिडले स्वास्थ्यलाई बढी हानी गर्छ । रातो मासुले मुटुका लागी खतरा मानिन्छ । डाक्टरका अनुसार, रातो मासु भन्दा सेतो मासु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । सेतो मासु भन्नाले कुखुरा, माछा, अष्ट्रिज, इमु लगायतको मासुलाई जनाउँछ । यसो भन्दैमा खसी, राँगा, बङगुरको मासु खादै नखानु भन्न खोजेको होईन । मिलाएर खान सकिन्छ ।
२.मसलाको प्रयोग कम गर्ने
चार्डवार्डमा हामी नेपालीहरु चिल्लो, पिरो, अमिलो र बोसोयुक्त खानेकुरा खान रुचाउँछौ । दशैंका बेला हामीले बनाउने हरेक परिकारहरुमा मसलाको प्रयोग अत्याधिक हुने गर्छ । अझ मासुमा त झन धेरै मसला प्रयोग गर्ने चलन छ । चिल्लो र मसला धेरै प्रयोग गर्दा त्यसले स्वास्थ्यमा विभिन्न समस्या ल्याउन सक्छ । मासुका परिकारमा बेसार, अदुवा, खुर्सानी, जिरा, मरिच, मेथी, सुप, धनियाँ धेरै राख्नु पनि उचित हुँदैन । सबै कुरा सन्तुलन रुपमा प्रयोग गरे स्वास्थ्य समस्या हुनबाट जोगिन सकिन्छ । केहीले मासुलाई उमालेर पकाउने गरेको पनि पाईन्छ । मासु पारखीका लागि यो पनि एक उत्तम विधी हो ।
३. छालारहित मासु खाने
छालासहितका खुट्टा, पखेटा, साँप्रोमा चिल्लो पदार्थले कोलस्ट्रोल र क्यालोरीको मात्रा बढी हुन्छ । यसले पनि विभिन्न रोगहरुको सृर्जना गर्छ । पाचन प्रणालीमा समेत छाला सहितको मासु खाँदा समस्या हुन्छ । छाला भएको मासुमा रौँ पनि हुने भएकाले मृगौलामा अड्किने सम्भावन हुन्छ । हाम्रो मृगौलालाई त्यस्ता किसिमका खाना पचाउन समस्या हुन सक्छ । त्यसैले पनि छालारहित मासु स्वास्थ्यका लागि उत्तम हुन्छ ।
४. शाकाहारी खानामा जोडदिने र व्यायाम गर्ने
शाकाहारी भोजन मुटुरोगका लागि फाइदा जनक हुन्छ । खाने भन्दैमा मासु मात्र खानु हुदैन । त्यसमा हरियो सलाद, सागसब्जी तथा गेडागुडी पनि समावेश गर्नुपर्छ । यसरी सागसब्जीलाई समावेश गर्दा कब्जियत हुनबाट बच्न सकिन्छ । मासुको तुलनामा सागसब्जी तथा गेडागुडी पच्न कम समय लाग्छ । शाकाहारी खाना २४ घण्टामा पच्छ भने मासु पच्न ७२ घण्टा लाग्ने डाक्टरहरु बताउँछन् । त्यसैले पनि मासुको तुलनामा शाकाहारी परिकार उत्तम मानिन्छन् ।
यि चार उपाय मात्र अप्नाएउ भने पनि हाम्रो दशैँ रमाईलो खानकीका साथ मलाउन सक्छौ । तपाईंले जानेका अरुपनि उपाय छन् भने हामीलाई कमेन्टमा भन्नुस् है ।
अनि बिदा हुनु भन्दा पहिला हामी सबैलाई विजया दशमी २०८१ को हार्दिक मंगलमय शुभकामना ।