काठमाडौं । साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा नेपाल र भारतबिचको खेल अत्यत्नै रोमाञ्चक बनेको थियो । खेलका रेफ्रि ओम चोकीका कारण ७० मिनेटसम्म तनावपुर्ण स्थिती बनेको खेलमा उनको भुमिकालाई दर्शकहरुले त्यतिनै बेला संकास्पद रुपमा लिएका थिए ।
हाफ टाइमपछि नेपालकी अग्र पङ्क्तिकी खेलाडी रेखा पौडेलले रातो कार्ड पाएपछि खेलमा विवाद उत्पन्न भएको थियो । यसले नेपाली समर्थकहरूलाई असन्तुष्ट र आक्रोशित बनाएको थियो । दशरथ रङ्गशालामा जारी खेलमा भारतीय खेलाडीलाई फाउल गरेको भन्दै रेफ्रीले नेपालकी फरवार्ड रेखा पौडेललाई दोहोरो पहेँलो कार्ड देखाउँदै रातो कार्ड दिएकी थिइन् । यसले रेफ्रिमाथि नै दर्शकहरु आक्रोशित बनेका थिए ।
उनै भुुटानी रेफ्री ओम चोकीलाई भारतले औपचारिक रुपमै संरक्षण दिएको पुष्टि हुने आधार भेटिएको छ । महिला साफ च्याम्पियनसीपमा ७० मिनेटभन्दा धेरै समय तनावपूर्ण अवस्था सिर्जना गर्ने रेफ्री चोकीमाथि प्रश्न उठाउनुपर्ने ठाउँमा, उनको भूमिकामाथि औँला उठाउनुपर्ने ठाउँमा भारतीय फुटबल संघले उल्टै नेपालविरुद्ध उजुरी दिने निर्णय गरेको छ ।
यो निर्णयले भुटानी रेफ्री चोकी भारतको प्रलोभनमा परेको, भारतकै खास मान्छे रहेको र नेपाललाई हराउने भूमिकामा देखिएको भनेर लागेको आरोपलाई पुष्टि गर्न मद्धत गरेको छ । भारतलाई जिताउन मैदानमा अस्वभाविक गतिविधि देखाएको लान्छनामा बल पुगेको छ ।
भुटानी रेफ्री ओम चोकीकै कारण महिला साफ च्याम्पयनसीपमा नेपाल र भारतबीचको खेल ७० मिनेभन्दा बढि समय रोकिन पुग्दा दशरथ रंगशाला निक्कै तनावपूर्ण बनेको थियो । यति लामो अवरोध अन्तर्राष्ट्रिय फुटबलमा विरलै उत्पन्न हुने गर्छ ।
५१ औं मिनेटमा नेपाली टीमकी स्टार खेलाडी रेखा पौडेललाई अन्यायपूर्वक दोस्रो पहेँलो कार्ड देखाइएपछि दशरथ रंगशालामा तनावको सुरुवात भएको थियो । प्रतियोगितमा नेपालकी उच्च गोलकर्ता रहेकी रेखालाई दोस्रोपटक, त्यो पनि बिनाकारण रेफ्रीले पहेँलो कार्ड देखाइदिएपछि रेखासहित नेपाली समर्थक आक्रोशित बन्न सुरु गरेका थिए । रिप्लेमा हेर्दा रेखाले कुनै फल नखेलेको स्पष्ट देखिन्छ ।
रेखा बाहिरिनुपर्दा दर्शक दीर्घामा निराशा र आक्रोश बढिरहेकै थियो । केही दर्शकले मैदानमा बोतल फ्याक्न थालिसकेका थिए । तर, तनावकै बीच खेल अगाडि बढ्यो । ७२ औं मिनेटमा नेपाली समर्थकलाई थप स्तब्ध पार्दै भारतले एक गोलको अग्रता लिन सफल भयो । त्यसपछि झन् नाटकीय दृष्यहरु देखिन थाले । रेफ्री चोकीले आफ्नो भूमिकालाई नाटकीय रुपमा परिवर्तन गर्न थालिन् ।
भारतीय खेलाडीहरु गोलको ‘सेलिब्रेसन’ गर्दै थिए । रेफ्रीले हतारमा खेल सुचारु गर्न सिटी फुकिदिइन् । सावित्रा भण्डारीले बल चलाइन् । प्रिति राईले बललाई अगाडि बढाउँदै सिधै गोल पोस्टमा प्रहार गरिन्, जतिबेला भारतकी गोलकिपर पोस्टमा थिइनन् ।
बल चल्न थालेसँगै भारतीय खेलाडीले पनि बल रोक्ने प्रयास भने गरेका थिए, तर गोल भएपछि उनीहरु प्रोटेस्टमा उत्रिए । आफ्ना खेलाडी तयार नहुँदै खेल सुचारु गरिएको भन्दै उनीहरुले विरोध जनाए । अम्पायरले पनि गोललाई मान्यता दिएनन् । आफैंले सिटी फुकेर खेल सुचारु गरेकी रेफ्रीले नेपालले गरेको वैध गोललाई मान्यता नदिएपछि रंगशाला अशान्त बन्न पुग्यो । नेपाली टीमका खेलाडीहरुको धैर्यको बाँध टुट्यो । उनीहरुले आफ्नो गोलले मान्यता पाउनुपर्ने अडान लिए । लामो खिचातानी भयो । खेल अवरुद्ध बन्यो ।
सम्भवतः रेफ्री चोकीले यतिसम्मको अपरिपक्कता देखाएकी थिइनन् भने दशरथ रंगशाला त्यति तनावपूर्ण बन्दैन थियो । ७० मिनेटभन्दा बढि समय खेल नै अवरुद्ध हुने अवस्था पनि सिर्जना हुँदैन थियो । यो हदसम्मको परिस्थिति निम्त्याउन भूमिका खेल्ने रेफ्री चोकीमाथि कारबाहीको माग हुनुपर्ने थियो ।
रेफ्रीकै कारण खेलमा अवरोध सिर्जना भएको विषय उठाउनुपर्ने थियो । तर भारतीय फुटबल संघले भने ७० मिनेटभन्दा लामो समय खेलमा अवरोध गराउने रेफ्री चोकीबारे कुनै प्रश्न नउठाईकन नेपालविरुद्ध उजुरी दिने निर्णयमा पुगेको छ ।
नेपाली टोलीकै गल्तीले खेल लामो समय रोकिन पुगेको भनेर पत्र लेखिँदै छ । खेल भएको भोलिपल्ट एआईएफएफले साफलाई पत्र लेख्ने निर्णय गरेको हो । खेल रोकिएपछि आफ्ना खेलाडीको लय र एकाग्रतामा बाधा पुर्याएको भारतीय फुटबल संघले ठहर गरेको छ । खेलमा तनावपूर्ण अवस्था सिर्जना हुनुमा नेपाललाई आरोप थोपर्दै भारतलेसमेत रेफ्री चोकीको मौन समर्थन गरिदिएको छ ।
३२ वर्षीया ओम चोकी भुटानबाट फिफा रेफ्री हुने पहिलो महिला हन् । उनी सन् २०१७ मा फिफा रेफ्री नियुक्त भएकी थिइन् । भुटानी संचारमाध्यमका अनुसार भुटानको वाङड्यु जिल्लाकी चोकीले गेडु कलेज अफ बिजनेस स्टडिजबाट वाणिज्य र वित्त विषयमा स्नातक डिग्री लिएकी छन् । उनले मास्टर्स कोर्स पनि गरेको समाचारमा उल्लेख छ ।
पढाइपछि चोकीले फुटबल मैदानमा राष्ट्रिय महिला रेफ्री बन्ने विकल्प चुनेकी थिइन् । उनै चोकीले नेपाल र भारतबीचको खेलमा नाटकीय भूमिकामा देखिँदा उनीमाथि गालीको वर्षा लागिरहेको छ । भारतीय फुटबल संघले गरेको निर्णयले रेफ्री चोकी भारतको खास मान्छे नै हो रहेछ भनेर पुष्टि गरिदिएको भन्दै नेपाली समर्थक थप आक्रोशित बनेका छन् ।