विपिन जोशी जीवित नरहेको इजरायली सेनाको पुष्टि

दियोपोस्ट संवाददाता  

काठमाडौं । इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् । इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् ।

ती अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको राजदूत पण्डितले जानकारी दिए ।

पण्डितले भने, ‘आईडीएफका अधिकारीले हामीलाई विपिन ईज नो मोर भने ।’ अमेरिकाको पहलमा इजरायल र हमासबिच युद्धविराम भएपछि आज हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरु रिहा गर्ने कार्यक्रम छ । आज छाड्न लागिएका २० जनाको सूचीहरुमा विपिनको नाम छैन । विपिनको अवस्था पत्ता लगाउन भन्दै सरकारको पहलमा विपिनकी आमा र बहिनी यसअघि इजरायल गएर फर्किएका थिए । त्यसपछि अहिले उनीहरु अमेरिकामा छन् ।