पूर्वसभामुख महरा पूर्पक्षका लागि जेल चलान

दियोपोस्ट संवाददाता  

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र ८० बमोजिम बुधवार थुनछेक आदेशपछि महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपककुमार श्रेष्ठका अनुसार महरालाई अदालतको आदेश बमोजिम सुन्धारास्थित केन्द्रीय कारागार पठाइएको छ । मंगलबार र बुधबार भएको बयान र थुनछेक बहसपछि महरालाई थुना पठाउने आदेश जारी भएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)द्वारा गत आइतबार पक्राउ गरेको थियो परेका महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको थियो ।

महराको चिनियाँ व्यापारी दावजिन वाङसँग निरन्तर सम्पर्क र पारिवारिक तथा व्यावसायिक सम्बन्ध रहेको देखिएको अदालतमा पेस भएको प्रारम्भिक प्रमाण र अनुसन्धानमा उल्लेख छ । दुवैबीचको मिलेमतोमा इलेक्ट्रोनिक सिगरेट (भेप) मार्फत सुन तस्करी गरिएको आरोप छ ।

महरासँगै उनका छोरा रेशम (राहुल) महरा र बुहारी विमला महरा को मोबाइल नम्बरबाट समेत दावजिन वाङसँग पटक-पटक कुराकानी भएको अदालतको आदेशमा उल्लेख छ ।

महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोखरेललाई फोन गरी जफत गरिएका सामानबारे भनसुन गरेको पनि प्रमाणित भएको अदालतको आदेशमा उल्लेख छ ।

भन्सार कार्यालयले २०७९ फागुन २१ गते भेप ७३० थान जफत गरेको थियो, जसको न्यूनतम मूल्य पाँच लाख ११ हजार रुपैयाँ तोकिएको थियो । तर भेपको आवरणमा करिब ९.५ किलो सुन लुकाइएको पाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

सरकारले गठन गरेको सुन तस्करी नियन्त्रण छानबिन आयोग, २०८० को प्रतिवेदन, प्रहरीले बुझाएको प्रतिवेदन, मोबाइल कल डिटेल र प्रत्यक्ष साक्षीका बयान अदालतमा प्रमाणका रूपमा पेश गरिएको छ ।

छानबिनका क्रममा अभियुक्त दिनेश बस्नेतले उक्त इ-सिगरेटभित्रको सुन ६ करोड रुपैयाँमा व्यापारी वेदप्रकाश अग्रवाललाई बिक्री गरेको बयान दिएका छन् । अग्रवाल र अन्य व्यक्तिका बयानले पनि आरोप पुष्टि गर्ने आधार बनेको छ ।

अदालतले प्रस्तुत प्रमाण र बयानका आधारमा महरालाई तत्काल निर्दोष ठहर गर्न सकिने अवस्था नरहेको निष्कर्ष निकाल्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।