नेपाल लाइफले पायो ‘इक्रा’ नेपालबाट ‘डबल ए माइनस’ रेटिङ, जीवन बीमा क्षेत्रमा पहिलो सफलता

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपालको अग्रणी र सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी ‘नेपाल लाइफ इन्स्योरेन्स’ कम्पनी लिमिटेडले इक्रा नेपालबाट ‘डबल ए माइनस (ICRA NP AA-) क्रेडिट रेटिङ प्राप्त गरेको छ। यससँगै कम्पनी देशकै पहिलो उच्चस्तरीय रेटिङ प्राप्त गर्न सफल भएको हो।

‘डबल ए माइनस’ श्रेणीमा पर्ने कम्पनीहरूलाई अत्यन्तै उच्च स्तरको वित्तीय सुरक्षा र दायित्व समयमै पूरा गर्ने क्षमतायुक्त मानिन्छ। नेपाल लाइफले आफ्नो बलियो वित्तीय स्थायित्व, बजारमा सशक्त उपस्थिति र जोखिम व्यवस्थापन क्षमताका आधारमा यो रेटिङ प्राप्त गरेको हो।

सन् २००१ मा स्थापना भएको कम्पनीले हाल देशभर १९० भन्दा बढी शाखा संचालन गर्दै वार्षिक बीमा शुल्कको हिसाबले करिब २७ प्रतिशत बजार हिस्सा कायम गर्न सफल भएको छ। कम्पनीको सोल्भेन्सी अनुपात १५०.४० प्रतिशत रहेको छ, जुन नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम मापदण्ड भन्दा धेरै माथि हो।

आर्थिक वर्ष २०८०-८१ मा कम्पनीले रु. २.१२ अर्ब खुद नाफा आर्जन गरेको थियो भने शेयरधनी कोषमा १८ प्रतिशत प्रतिफल कायम गरेको थियो। लगानीको हिसाबले कम्पनीले करिब ९४ प्रतिशत रकम स्थिर ब्याजदायी उपकरणहरूमा लगानी गरेको छ, जसले औसत १०/०२ प्रतिशत प्रतिफल दिएको छ।

नेपाल लाइफले जोखिम सन्तुलनका लागि नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, हिमालयन पुनर्बीमा लिमिटेड र ह्यानोभर रि (जर्मनी)सँग पुनर्बीमा सम्झौता गरेको छ, जसले आकस्मिक जोखिममा कम्पनीको सुरक्षा सुनिश्चित गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली का अनुसार कम्पनीले प्राप्त गरेको यो रेटिङले नेपाल लाइफको विश्वसनीयता, स्थिरता र बजारमा अग्रस्थान कायम राख्ने क्षमतालाई पुष्टि गरेको छ।

उनले कम्पनीको वित्तीय स्थायित्व अझ सुदृढ बनाउन जोखिम न्यूनीकरणका आधुनिक उपकरणहरूको प्रयोग र लगानी विविधिकरणलाई प्राथमिकतामा राख्दै उच्च र स्थिर प्रतिफल सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।

हाल कम्पनीको कुल जीवन बीमा कोष २३३ अर्ब रुपैयाँ र लगानी २४० अर्ब रुपैयाँ भन्दा माथि पुगेको छ। साथै, असार मसान्तसम्म कम्पनीले ६७ अर्ब रुपैयाँभन्दा बढी बीमा दाबी भुक्तानी गरिसकेको छ।

नेपाल लाइफले ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी र सबै सरोकारवालाको निरन्तर विश्वास र सहयोगकै कारण यस्तो उपलब्धि हासिल गरेको भन्दै धन्यवाद प्रकट गरेको छ।