भारतमा डुंगा पल्टिँदा १३ बालबालिकाको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौँ । भारतको बिहारस्थित वैशाली जिल्लाको राघोपुरक्षेत्र अन्तर्गत गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १३ जना बालबालिकाको मृत्यु भएको छ।

बीबीसीका अनुसार छिमेकी गाउँमा आयोजित भोजमा सहभागी हुन जाँदै गरेका १५ देखि २० जना बालबालिका सवार डुंगा मंगलबार राति स्थानिय समय करिब ८ः३० बजे दुर्घटनामा परेको हो ।

डुंगामा सवार सबै बालबालिका १५ वर्ष वा सोभन्दा कम उमेरका रहेको वैशालीकी जिल्ला अधिकारी वर्षा सिंहले जानकारी दिएकी छन् ।

हालसम्म १३ जनाको शव निकालिएको छ भने सात जनाको उद्धार गरी नालन्दा मेडिकल कलेज तथा अस्पतालमा उपचारका लागि पठाइएको छ  । गम्भीर घाइते केहीलाई थप उपचारका लागि पटना रिफर गरिएको जनाइएको छ । घटनास्थलमा राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ) को टोली र स्थानीय गोताखोरले उद्धार कार्य जारी राखेका छन् ।

दुर्घटनापछि स्थानीय बासिन्दाले उद्धार कार्यमा प्रशासनले ढिलाइ गरेको आरोप लगाउँदै विरोध गरेका थिए । घटनाको अवस्था बुझ्न स्थानीय अस्पताल पुगेकी जिल्ला अधिकारी सिंहलाई स्थानीयले घेराउ गर्दै प्रशासनविरुद्ध नाराबाजी गरेका थिए।

मृतकका परिवारलाई राहत घोषणा

दुर्घटनाप्रति बिहारका मुख्यमन्त्री सम्राट चौधरीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत दुःख व्यक्त गर्दै मृतकका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

यसैगरी, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन्।

दुर्घटनापछि राघोपुर क्षेत्रमा शोक छाएको छ  । घटनाको विस्तृत विवरण र दुर्घटनाको कारणबारे थप जानकारी आउन बाँकी छ।