आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

दियोपोस्ट संवाददाता

काठमाडौँ । बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको पूजा गर्ने धार्मिक परम्परा छ।

धार्मिक मान्यताअनुसार कुष्माण्डा देवीको आराधना गर्नाले दुःखकष्टबाट मुक्ति मिल्नुका साथै शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती, देवीभागवतलगायत धार्मिक ग्रन्थ पाठ गर्ने चलन छ ।

पौराणिक मान्यताअनुसार सृष्टिको रचना हुनुअघि चारैतिर अन्धकार रहेको अवस्थामा कुष्माण्डा देवीले आफ्नो शक्तिबाट ब्रह्माण्डको रचना गरेकी थिइन् । आफ्नै शक्तिले ब्रह्माण्ड उत्पन्न गरेकाले उनलाई ‘कुष्माण्डा’ भनिएको हो । उनलाई सृष्टिको आदिस्वरूपा तथा आदिशक्तिका रूपमा पनि पूजा गरिन्छ । उष्णता र शीतलतालाई सन्तुलनमा राखेर सृष्टि गर्ने शक्ति भएकी यी देवीको बास सूर्यमण्डलभित्र रहेको धार्मिक विश्वास छ।

आठ हात भएकी अष्टभुजा देवी कुष्माण्डाको वाहन सिंह हो । उनका सात हातमा क्रमशः कमण्डलु, धनुष, बाण, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र र गदा रहेका छन् भने आठौँ हातमा सर्वसिद्धि र निधि प्रदान गर्ने माला रहेको धार्मिक मान्यता छ । देवीले हातमा सृष्टिको आधार मानिने रक्तपूर्ण दुई घडा पनि लिएकी छन् । उनको भक्तिपूर्वक पूजा आराधना गर्नाले आयु, यश, बल र आरोग्य वृद्धि हुने विश्वास गरिन्छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिएको थियो । आज चौथो दिन कुष्माण्डा देवीको आराधना गरिँदै छ ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा बिहानैदेखि पूजा आराधना तथा दर्शनका लागि भक्तजनको भीड लाग्ने गरेको छ।