
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले दसैँ अवधिभर जिल्लाभित्र टिपर सञ्चालनमा रोक लगाएको छ । कार्यालयले सूचना जारी गर्दै असोज ३१ गते फूलपातीदेखि कात्तिक ९ गते पूर्णिमासम्म टिपर सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको जनाएको हो ।
जिल्ला सुरक्षा समितिको असोज २७ गते बसेको बैठकको निर्णयअनुसार जिल्लाभित्रका बीपी राजमार्ग, अरनिको राजमार्गलगायतका सडकमा टिपर सञ्चालनमा रोक लगाइएको हो।
दसैँका बेला सडकमा सवारीसाधनको चाप बढ्ने र दुर्घटनाको जोखिमसमेत रहने भएकाले त्यसलाई न्यूनीकरण गर्न तथा यात्रुवाहक सवारीसाधनको आवागमन सहज बनाउन यस्तो निर्णय गरिएको प्रशासन कार्यालयले जनाएको छ।
