दशैंका पौराणिक कथा: कसले लेख्यो? कसको पक्षमा लेख्यो? 

प्रकाश विसी

दशैं आयो भन्नेबित्तिकै हाम्रा दिमागमा के आउँछ?
नयाँ लुगा, रातो-सेतो टीका, जमरा, खसीको मासु, गाडीको टिकट, अनि जसरी पनि घर फर्कने हतारो!

तर, कहिल्यै सोच्नुभएको छ- दशैं ठ्याक्कै के हो? यो कहिलेदेखि सुरु भयो? सयौँ वर्षसम्म यो कसरी टिकिरह्यो? यसले हाम्रो समाजलाई के दियो, अनि के-के खोस्यो?

कोही यसलाई असत्यमाथि सत्यको विजय भन्छन्, त कोही आफ्ना पुर्खाको हारको दिन। एउटै पर्व, तर कथाहरू कति धेरै! आजको भिडियोमा हामी दशैंका तिनै कथाहरूको भित्री पत्र खोतल्नेछौँ।

कथा नम्बर १: देवी र महिषासुर (विजय कि छल?)

दशैंसँग जोडिएको सबैभन्दा चर्चित कथा दुर्गा देवी र महिषासुरको हो।

शास्त्र अनुसार, असुरराज रंभ र एउटा भैंसीको प्रेमबाट महिषासुरको जन्म भयो। उनी मानिस र भैंसी दुवैको रूप लिन सक्थे। महिषासुरले ब्रह्माको कठोर तपस्या गरेर वरदान पाए- “कुनै देवता वा दानवले मलाई जित्न नसकून्।”

शक्ति पाएपछि उनले स्वर्गमा आक्रमण गरे, इन्द्रलाई हराए र देवताहरूलाई भगाइदिए। हैरान भएका देवताहरूले आफ्ना सम्पूर्ण तेज मिलाएर एक शक्तिशाली देवी प्रकट गराए- दुर्गा। शिवको त्रिशूल, विष्णुको चक्र र इन्द्रको वज्र लिएर सिंहमा सवार देवीले युद्धमा महिषासुरको वध गरिन्। यही जितको खुसीमा विजयादशमी मनाउन थालियो।

तर… कथाको अर्को पाटो पनि छ।

भारतका झारखण्ड, छत्तीसगढ र पश्चिम बंगालका असुर समुदायले महिषासुरलाई राक्षस होइन, आफ्नो पुर्खा र महान् राजा मान्छन्। सन् २०११ मा दिल्लीको जेएनयु (JNU) बाट सुरु भएको “महिषासुर शहादत दिवस” आज धेरै आदिवासी क्षेत्रमा मनाइन्छ। उनीहरूका लागि दुर्गापूजा उत्सव होइन, आफ्ना राजाको हत्याको शोक हो।

असुर समुदायकी लेखिका सुषमा असुर भन्छिन्, “हाम्रा राजा महिषासुरले महिलामाथि हतियार उठाउँदैनथे, त्यसैले देवीलाई अघि सारेर छलपूर्वक उहाँको हत्या गरियो।”

भाषाविद् राजेन्द्र प्रसाद सिंहका अनुसार, “महिषासुर” को मूल अर्थ “महाशक्तिमान” थियो। पछि “महिष” को अर्थ राजा र त्यसपछि भैंसी बनाइयो। काला वर्णका मूलवासीहरूलाई भैंसीको रङसँग जोडेर “भैंसासुर” भनियो। अचम्मको कुरा, प्राचीन वैदिक कोशमा “असुर” को अर्थ ‘राक्षस’ होइन, ‘प्राणदाता’ वा जीवन दिने व्यक्ति भेटिन्छ। अर्थात्, कथा जहिले पनि जित्नेले लेख्छ। जो हारे, उनीहरूका कथा इतिहासको कुनामा थिचिए।

कथा नम्बर २: राम र रावण (आयातित संस्कृति कि मौलिक परम्परा?)

हामीले सुनेको दोस्रो कथा हो- श्रीरामले नवरात्रमा दुर्गाको पूजा गरी रावणको वध गरे। लंका जलाइयो, रावण ढल्यो। आजकाल काठमाडौंका पण्डालहरूमा पनि रावणको पुत्ला जलाउने होडबाजी चल्छ।

तर, संस्कृतिविद् डा. जगमान गुरुङ  भन्छन्- ‘गंगा किनारको मैदानबाट आएको यो पुत्ला दहन गर्ने संस्कृति हाम्रो मौलिक होइन।’

नेपालमा दुर्गा पूजाको परम्परा पहाडी जनजातिहरूबाट सुरु भएको मानिन्छ, जो पहिले युद्धको अग्रपंक्तिमा हुन्थे। टीकाकै कुरा गर्ने हो भने, पहिले नेपालमा चामल बाहेक केही नहुँदा सबैले दही र चामल मुछेर सेतै टीका लगाउँथे। बजार र भारतीय प्रभाव बढेपछि मात्र रातो रङ (अबीर) को प्रवेश भयो। आज धेरै जनजातिहरू र खसआर्य समुदायका मानिसहरू पनि आफ्नो मौलिकता खोज्दै पुनः सेतो टीकातिरै फर्कँदै छन्।

A temple in Punjab where Ravana is worshipped on Dussehra

अनि, रावण साँच्चै खलनायक मात्रै थिए त?

रावण राक्षस मात्र थिएनन्। उनी महान् ज्ञानी र ‘शिवताण्डव स्तोत्र’का रचयिता थिए। विज्ञान र रसायन शास्त्रका जानकार थिए (जसको प्रमाण पुष्पक विमान हो)। एक कुशल राजनीतिज्ञ र प्रजापालक राजा थिए। हो, उनीभित्र अहंकार र कामवासना जस्ता अवगुण थिए। तर मान्छे न पूरै भगवान् हुन्छ, न पूरै राक्षस!

भारतको काकीनाडा, बिसरख, कानपुर, जोधपुर र मध्य प्रदेशको रावणग्राममा आज पनि रावण र मन्दोदरीको पूजा हुन्छ। श्रीलंकामा त रावणका विशाल मूर्तिहरू छन्। मध्य भारतका गोण्ड आदिवासी आफूलाई रावणका वंशज (पौलस्त्य वंश) मान्छन् र मेघनादको पूजा गर्छन्।

दक्षिण भारतका नेता पेरियार (ई.भी. रामासामी) ले त रामायणलाई धार्मिक होइन, राजनीतिक ग्रन्थ भनेका छन्। उनका अनुसार यो उत्तरका आर्यहरूले दक्षिणका अनार्यहरूमाथि आफ्नो प्रभुत्व जमाउन रचेको कथा हो।

केही इतिहासकार त रामायणलाई सम्राट अशोकको युगसँग पनि जोड्छन्। बौद्ध जातक कथा र अशोकले यज्ञ तथा बलिप्रथा बन्द गराएपछि रिसाएका शासकहरूले अशोकलाई नै ‘कल्पित रावण’ बनाएको तर्क पनि गर्ने गरिन्छ।

कथा नम्बर ३: इन्द्र र वृत्रासुर (वैदिक कालको खडेरी)

तेस्रो कथा अझै पुरानो, वैदिक कालको हो। ऋग्वेदमा इन्द्रले “वृत्र” नामक अवरोधकारी शक्तिलाई मारेर रोकिएका जलधारा खोलिदिएको वर्णन छ। “वृत्र” को अर्थ छेक्ने वा रोक्ने हुन्छ। यसलाई खडेरी र वर्षाबीचको प्राकृतिक संघर्षको प्रतीकात्मक कथा मान्ने विद्वान् छन्। कहिकाही वृत्रालाई तीन टाउको भएको सर्प पनि भनि दर्शाएको पाइन्छ । यसको वर्णन राम-लक्षमण संवादको रूपमा रामायणमा पनि उल्लेख पाइन्छ । धेरै विद्वानहरूको मान्छन्, यही प्राकृतिक सङ्घर्षको कथा नै पछि रूपान्तरण हुँदै रामायण र दुर्गापूजाका कथाहरूमा ढालिएको हो। यहाँ न राम छन्, न दुर्गा- छन् त केवल इन्द्र र पानीको कथा!

त्यसो भए दशैं ठ्याक्कै के हो त?

यी सबै कथा सुनेपछि प्रश्न उठ्छ- दशैं आखिर के हो?

यसको कुनै एउटा जवाफ छैन। कसैका लागि देवीको जित, कसैका लागि रामको, कसैका लागि इन्द्रको, कसैका लागि पुर्खाको हार। यो किन अहिलेसम्म टिक्यो? यसको उपयोगिता के हो? समाजले यसबाट के पायो र के गुमायो? यी प्रश्नको उत्तर कुनै एउटा घेरा, एउटा परिधि वा एउटा परिभाषाभित्र अट्दैन। यसैले यसबारे हामीले स्वस्थ छलफल सुरु गर्नुपर्छ।

नेपालमा दशैं शुद्ध धार्मिक पर्व मात्र होइन, राज्यले संरक्षण गरेको सांस्कृतिक औजार पनि हो। सार्वजनिक बिदा, राजकीय अनुष्ठान र ‘राष्ट्रिय पर्व’को हैसियतले एक समुदायको अभ्यासलाई अरूका लागि पनि अपेक्षित मानक बनायो। यसैले केही जनजाति समुदायले दशैंलाई आफ्नो पर्व नमान्ने वा भिन्न ढंगले मनाउने गरेका छन्, र ‘राष्ट्रिय पर्व’को बहस पनि यही बिन्दुमा केन्द्रित छ। यो बहसलाई धार्मिक आस्थामाथिको आक्रमण होइन, बहुसांस्कृतिक राज्यमा समान मान्यताको प्रश्नका रूपमा बुझ्नु उपयुक्त हुन्छ।

बजारको भूमिका पनि उत्तिकै निर्णायक छ। नयाँ लुगा, खसी, यातायात, उपहार र ऋणको चक्रले दशैंलाई उपभोगको मौसम बनाएको छ। यसले मौसमी रोजगारी र आर्थिक गतिविधि बढाउँछ, तर निम्न आय भएका परिवारमा ऋणको दबाब पनि थप्छ।

दशैंले जोड्छ पनि, बाँड्छ पनि

समाजशास्त्रीय दृष्टिले दशैंले एकसाथ दुई काम गर्छ। यसले परिवारलाई जोड्छ, प्रवासी श्रमिकलाई घर फर्काउँछ, श्रमजीवीलाई विश्राम र उत्सवको अवसर दिन्छ, र दुर्खाइमले भनेझैँ सामूहिक चेतना बलियो बनाउँछ। अर्कातिर एउटै कथा र अनुष्ठानलाई “सामान्य” बनाएर अरू स्मृतिलाई किनारा लगाउँछ, आर्थिक असमानता प्रदर्शित गर्छ, र “हामी र उनीहरू” को विभाजन गहिरो पार्न सक्छ। त्यसैले दशैंलाई केवल उत्सव वा केवल उत्पीडनको प्रतीक भन्ने दुवै सरलीकरण अपूर्ण छन्।

कुनै पनि पर्व, मिथक वा धर्म आकाशबाट खसेको सत्य होइन। यो समाजको भौतिक अवस्था, उत्पादन-सम्बन्ध र शक्ति-सम्बन्धसँग गाँसिएको सामाजिक तथ्य हो। यी कथाले तीन कुरा देखाउँछन्:

पहिलो, कथा प्रायः विजेताको दृष्टिले संरक्षित हुन्छ। महिषासुर र रावण दुवै “असुर” र “राक्षस” भनिए, किनकि तिनका कथा हारेकाले लेखेनन्। असुर समुदायले आफ्नै स्मृति दिवस मनाउनु हराइएको आवाजले कथा फेरि आफ्नै हातमा लिन खोज्नु हो।

दोस्रो, परम्परा स्थिर हुँदैन। टीकाको रङ अर्थतन्त्र र बजारसँगै फेरिएझैँ संस्कृति पनि फेरिँदै जान्छ।

तेस्रो, जब सत्ताले आफ्नो विजयलाई “धर्मको जित” भनेर चिनाउँछ, तब असहमति जनाउनेलाई “अधर्मी” भन्न सजिलो हुन्छ। “सत्य को र असत्य को?” भन्ने प्रश्न त्यसैले स्वाभाविक हुन्छ।

टीका सेतो लगाउने वा रातो, पर्व मनाउने वा नमनाउने, यो व्यक्तिगत रोजाइको विषय हो। तर कथा सुन्दा “के भनियो?” मात्र नसोधौँ; “कसले, कसको हितमा र किन भन्यो?” पनि सोधौँ। किनकि कथा आफैँ बन्दैन, कसैले लेख्छ, र जसले लेख्छ, संसारले प्रायः उसैको कथा सुन्छ।