
काठमाडौं- जेन्जी अभियन्ता मजिद अन्सारीले प्रधानमन्त्री बालेन्द्र शाहको नाम जोडिएको आरोपको तत्काल छानबिन हुनुपर्ने माग गरेका छन्। विचौलिया भनिएका इनम सापकोटाले सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलसँगको च्याटमा प्रधानमन्त्रीको नाम प्रयोग गरेको भन्ने विवरण दियोपोष्टसहित सञ्चारमाध्यमबाट बाहिरिएपछि अन्सारीले त्यसमा उल्लेख भएको “पीएम” प्रधानमन्त्री शाह नै हुन् भने उनले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। साथै उनले संसदीय अनुसन्धान र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट तत्काल अनुसन्धान हुनुपर्ने माग गरेका छन्।
अन्सारीका अनुसार सञ्चारमाध्यममा आएको विवरणमा सापकोटाले फुयाँललाई पठाएको सन्देशमा “पीएम ह्याज आस्क्ड इट अ बिट सिरियस्स्ली P” भनिएको छ। उनले यसको अर्थ प्रधानमन्त्रीले नै केही गम्भीर रूपमा मुद्दा खारेज गरिदिन अनुरोध गरेको भन्ने लगाएका छन्।
उनले तीन प्रश्न उठाएका छन्। सो सन्देश कहिलेको हो? सन्देशमा उल्लेख “पीएम” भनिएको व्यक्ति को हुन्? र, ती व्यक्ति हालका प्रधानमन्त्री बालेन्द्र शाह हुन् कि पूर्वप्रधानमन्त्री सुशीला कार्की?
उनको तर्कअनुसार “पीएम” बालेन शाह भए उनले राजीनामा दिनुपर्छ र उनीमाथि अनुसन्धान हुनुपर्छ। सुशीला कार्की भए उनलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनको माग छ।

अन्सारीले प्रधानन्यायाधीश, न्यायाधीश, प्रधानमन्त्री र सत्तापक्षका सांसदको नाम जोडिएपछि विषय सामान्य फौजदारी अनुसन्धानभन्दा माथि पुगेको बताएका छन्। उनका अनुसार प्रधानन्यायाधीश र न्यायाधीशकै नाम मुछिएकाले न्यायपरिषद्ले छानबिन गर्ने प्रश्न नै उठ्दैन।
यसको सट्टा उनले संसदीय परम्परा र संवैधानिक नैतिकताअनुसार सर्वदलीय संसदीय समिति गठन गरेर खुला संसदीय छानबिन सुरु गर्न आग्रह गरेका छन्। “न्यायपालिका चल्ने नै नागरिकको विश्वासमा हो,” उनले लेखेका छन्, “जुन दिन त्यो विश्वास सकिन्छ, त्यो दिन राज्य स्टेट फेलियरतर्फ जान्छ।”
अन्सारीले नेपाल बार एसोसिएसनले अझै चुप लागे बारको औचित्यमाथि नै प्रश्न उठ्न सक्ने चेतावनी दिएका छन्। उनले राजीव पराजुली विरुद्ध भ्रष्टाचार नियन्त्रण सम्बन्धी शाही आयोगको मुद्दाको प्रसङ्ग उल्लेख गर्दै तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानन्यायाधीशमार्फत न्यायाधीशलाई प्रभाव पार्न खोज्दा पनि न्यायपालिकाले स्वतन्त्रता र गरिमा कायम राखेको आफूहरूले पढ्दै आएको बताएका छन्। अहिले न्यायपालिकाको स्वतन्त्रता जोगाउने जिम्मेवारी स्वतः बारको हुन आएको उनको तर्क छ।
प्रधानन्यायाधीश मनोजकुमार शर्मा र सांसद विश्वराज पोखरेलले आफूमाथिका आरोप अस्वीकार गर्दै विज्ञप्ति जारी गरेका छन्। न्यायाधीश फुयाँलले भने सापकोटासँग सम्पर्क भएको स्वीकार गर्दै उनले आफूलाई प्रधानमन्त्रीको मान्छे भन्दै दबाब दिएको र शङ्कास्पद लागेपछि आफैँले प्रधानमन्त्रीको सचिवालय र प्रहरीलाई जानकारी दिएको दाबी गरेका छन्। यस विषयमा प्रहरीले एसपी नरहरी रेग्मीको नेतृत्वमा छुट्टै अनुसन्धान समिति गठन गरेको छ। नेपाल बार एसोसिएसनले पनि निष्पक्ष र पारदर्शी छानबिनको माग गरेको छ।
प्रधानमन्त्री शाह वा उनको सचिवालयको प्रतिक्रिया यो समाचार तयार गर्दासम्म प्राप्त भएको छैन।