भक्तपुर, २७ अजोज । भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३३औँ हप्ता तीन टन फोहर सङ्कलन गरिएको छ । अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यतामा भएको सफाइ अभियानमा तीन टन फोहर सङ्कलन भएको हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले जानकारी दिएका छन् ।
हनुमन्ते सफाइ अभियान शुरु भएदेखि अहिलेसम्म २१६ टन फोहर सङ्कलन भएको जानकारी दिँदै उनले भक्तपुरको सूर्यविनायक र भक्तपुर नगरपालिका जोड्ने राधेराधे क्षेत्रको हनुमन्ते पुलमुनि र त्यस आसपास क्षेत्रमा सरसरफाइ गरिएको बताए ।
सूर्यविनायक नगरपालिकाको नेतृत्वमा शुरु भएको अभियानको क्रममा शनिबार १३ विभिन्न सङ्घसंस्था र २७६ जना अभियन्ताको सहभागिता रहेको थियो । अभियानका क्रममा अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख थापाले आफ्नो नगरक्षेत्र भएर बग्ने हनुमन्ते नदीमा फोहर फाल्नेलाई कडा कारवाही गर्ने नीति नगरपालिकाले अवलम्बन गरेको बताए ।