उत्तरी सिरियामा कुर्द नेतृत्वको फौज पछाडि हट्न सक्नेगरी युद्धविराम गर्न टर्की सहमत भएको अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बताएका छन्।
अङ्करामा उपराष्ट्रपति पेन्स र टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनबीच छलफलहरू भएपछि यस्तो भनाइ बाहिर आएको हो।
सम्पूर्ण सैन्य कारबाहीहरू पाँच दिनको लागि रोकिएको छ र अमेरिकाले कुर्दहरूलाई व्यवस्थित ढङ्गबाट फिर्ता गर्न सघाउनेछ।
सीमा क्षेत्रमा टर्कीले ‘आफ्नो सुरक्षित क्षेत्र’ बनाउन चाहेको ठाउँबाट अमेरिकाले कुर्दहरूलाई हटाउनेछ।
टर्कीले युद्धविराम गर्ने कुरा उपराष्ट्रपति पेन्सले भन्दा पहिले राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा ट्विटमार्फत बताएका थिए।
यसअघि टर्कीले हमला सुरु गरेकै दिन ट्रम्पले टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनलाई लेखिएको एउटा पत्र सार्वजनिक भएको थियो।
जसमा ट्रम्पले उनलाई ‘कडा र मुर्ख व्यक्ति नहुन’ लेखेका थिए।
पेन्सले आफ्नो घोषणाको बेला त्यसको श्रेय डोनल्ड ट्रम्पको ‘बलियो नेतृत्व’लाई दिँदै राष्ट्रपतिले ‘युद्धविराम चाहेको र हिंसा रोक्न चाहेको’ बताएका थिए।
टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोग्लुले पत्रकारहरूसँग कुरा गर्दै सिरियन डेमोक्र्याटिक फोर्सेस (एसडीएफ)ले सीमा क्षेत्र छाडेपछि मात्र सैन्य हमला स्थायी रूपमा रोकिने बताए।
“हामीले कारबाही रोकेका हौँ, अन्त्य गरेका होइनौँ,” उनले भने।
“त्यस क्षेत्रबाट (कुर्द बल) पूर्ण रूपमा पछाडि हटेपछि मात्र हामीले हमला अन्त्य गर्नेछौँ।”
आक्रमण रोक्ने बताएसँगै राष्ट्रपति ट्रम्पले तीन दिनअघि टर्कीविरूद्ध लगाएका अमेरिकी प्रतिबन्धहरू हटाएका छन्।
तर अमेरिकी संसद्का दुई वरिष्ठ डेमोक्र्याटहरूले भने एउटा विज्ञप्तिमार्फत् त्यसलाई उनीहरूकै शब्दमा ‘झूटो युद्धविराम’ भनेका छन्।
टर्कीले गतसाता उत्तरी सिरियामा आफ्नो सैन्य आक्रमण सुरु गरेको थियो।
पछिल्ला आठ दिनमा ७२ जना आम नागरिकहरू मारिनुका साथै तीन लाख विस्थापित भएका छन्।
कुर्द नेतृत्वको एसडीएफको एउटा प्रमुख अङ्ग ‘कुर्द वाईपीजी’ले युद्धविरामलाई सदर गर्दै त्यसको सफलतालाई सघाउने बताएको छ।