काठमाडौँ, कात्तिक १ । इँटाभट्टामा १७ जनालाई ज्यूँदै जलाउने रौतहटका सांसद मोहम्मद अफ्ताव आलम गत असोज २६ गते पक्राउ परे । आलमलाई संविधान सभाको पहिलो निर्वाचनको समयमा आफ्नै कार्यकर्ताहरुलाई ज्यूँदै जलाएको अभियोगमा पक्राउ गरिएको हो । उनलाई जिल्ला प्रहरी कार्यलय रौतहटका प्रहरी प्रमुख भुपेन्द्र खत्रीको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो ।
रौतहटस्थित राजपुर नगरपालिका–२ स्थित फरहदवा गाउँ, सांसद आलमको गाउँ । प्रहरीहरु दिउँसै पनि एक्लै हिँड्न डराउँथे । असोज २६ गते आलम आफन्तको विहेबाट गाउँ फर्किदै छ भन्ने कुरा प्रहरीले सुचना पाएको थियो ।
प्रहरीले सुचना पाएपछि फरहदवा गाउँ चारैतिरबाट घेराउ गर्यो । नेपाल प्रहरीले सशस्त्र प्रहरी र नेपाली सेनालाई ब्याकफोर्सको रुपमा परिचालन गरेको थियो । सम्भावित अवरोध हुन नदिनका लागि सशस्त्र र नेपाली सेनाले समेत नेपाल प्रहरीलाई सहयोग गरेको थियो । सांसद आलमलाई उनकै घरबाट नियन्त्रणमा लिइयो र कडा घेराबन्दीका साथ जिल्ला प्रहरी कार्यलय पुर्याइयो ।
आफुलाई प्रहरीले नियन्त्रणमा लिइसक्दा पनि आलम चिच्याउँदै एसपी खत्रीलाई धम्क्याइरहेका थिए । भन्दै थिए, ‘हे एसपी ! तिमी को हौ ? म आईजी बनाउने ताकत राख्छु, पक्राउ गरेर ठूलो गल्ती गर्यौ छुटेर आएपछि देखाइदिन्छु ।’ आलमलाई गौर नपुर्याउँदै सडकमा उनका समर्थकहरु उफ्रिन थालिसकेका थिए ।
सर्वोच्च अदालतको फैसला कार्यन्वयन निर्देशनालयले ६ पटकसम्म आलमलाई पक्राउ गर्न ताकेता गरेको थियो । छैठौँ पटकको ताकेतामा एसपी खत्रीले उनलाइ पक्राउ गरेको हो । रौतहटका तात्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारी थिए भने प्रहरी प्रमुखमा एसपी लक्ष्मण न्यौपाने थिए । उनिहरुले घटनामा पीडितको जाहेरी समेत दर्ता गर्न अस्वीकार गरेको पीडितहरुले बताएका छन् ।
त्यतिबेला काँग्रेस नेता कृष्णप्रसाद सिटौला गृहमन्त्री भएको कारण पनि काँग्रेसकै सांसद आलमलाई आफ्नो करतुत लुकाउन सहज भएको हो । राजनीतिक दबावका कारण प्रहरीले जघन्य अपराधको अनुसन्धानमा चरम लापरवाही गरेको थियो । प्रहरीले नै घटनाको प्रमाण मेटाउने काममा अग्रसर भएको समेत पीडितहरुको आरोप छ । गृहमन्त्री सिटौला र तात्कालिन प्रहरी महानिरिक्षक ओमबिक्रम राणा नै रौतहट पुगेर प्रहरीलाई दबाव दिएको पीडितको गुनासो छ ।
घटनापछि रौतहटमा धेरै प्रहरी प्रमुख फेरिए तर पीडितको सुनुवाई र एक जघन्य अपराधीलाई पक्राउ गर्ने साहस कुनैपनि प्रहरी अधिकारीले देखाएन । फैसला कार्यन्वयन निर्देशनालयको पटकपटकको ताकेतालाई सुनेनसुने गरियो । रौतहट पुगेका तात्कालिन प्रहरी प्रमुख जय बहादुर चन्दसमेत घटनाको अनुसन्धान तर्फ नलागेको पीडितहरुको गुनासो छ ।
आलमलाई पक्राउ गरेपछि एसपी खत्रीले वाहवाही कमाएका छन् । उनको प्रशंसा चुलिएको छ । प्रशंसा संगै खत्रीलाई चुनौतीसमेत थपिएको छ । आलम पक्राउपछि यति कहालीलाग्दो घटना बाहिर आएको छ । पीडितहरुले केही राहतको श्वास लिएका छन् ।