काठमाडौं, १ कार्तिक । नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालको ‘मान्छे हुँ’ भन्दै एक व्यक्तिले विभिन्न व्यक्तिलाई ठगी गरेको आरोप लागेको छ ।
दुबई स्थित फुजेरामा नमस्ते नामक रेष्टुरेन्ट सञ्चालन गर्दै आएका गैरआवासीय नेपाली संघका सदस्य समेत रहेका सुजन सापकोटा ‘उर्फ’ समिरले वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिलाई लाखौँ ठगी गरेको पाइएको छ ।
कयौँ व्यक्तिलाई भने उनको नमस्ते रेष्टुरेन्टमा शेयर दिन्छु भन्दै लाखौँ ठगी गरेको पाइएको छ । पीडितहरुले आफूलाई समिरले ठगी गरेको विषयमा उजुरी गर्छु भन्दा ‘सकेको गर म आइजी सर्वेन्द्र खनालको मान्छे हुँ’ भन्दै धम्काउने गरेको समेत पीडितको भनाई छ ।
चितवन जिल्ला भरतपुर नगरपालिका वडा नम्बर ९ पार्वतपुर घर भएका सापकोटाले दर्जनौँ व्यक्तिलाई ठगी गरेपछि पीडितहरु गैरआवाशिय नेपाली संघको निर्वाचन भइरहेको स्थल होटल ‘ह्यातमा समेत पुगेका थिए ।
दियोपोस्टको सम्पर्कमा आएका चितवन भरतपुर नगरपालिका वडा नम्बर १२ का यम बहादुर कार्कीले आफूलाई समिरले रेष्टुरेन्टमा शेयर दिन्छु भन्दै ३ लाख ८० हजार रुपैयाँ ठगी गरेको बताए ।
त्यस्तै गैडाकोट नगरपालिका २ घर भएका रविन कार्कीलाई रेष्टुरेन्टको शेयर दिन्छु भन्दै प्रलोभनमा पारेर ८ लाख रुपैयाँ ठगी गरेको पीडितहरुले जानकारी दिए ।
भक्तपुरको मध्यपुर ठीमि नगरपालिका–१ लोकन्थलीका सोनु सिंहलाई होटलमा लगानी गराउन भन्दै ५ लाख ५० हजार रुपैयाँ ठगी गरेको पाइएको छ । सोनुले आफ्नो रकम फिर्ता माग्दा सापकोटाले ‘गोली हान्दिन्छु’ भन्दै धम्काउने गरेको पीडितको भनाई छ ।
गैडाकोट नगरपालिका ५ का लक्ष्मण वनलाई दुवई विमानस्थलमा रोजगारी दिलाइदिन्छु भन्दै ३ लाख ७० हजार रुपैयाँ ठगी गरेको वनले दियोपोस्टलाई बताए ।
भरतपुर महानगरपालिका वडानम्बर ७ का विराज सिंह ठकुरीलाई नमस्ते रेष्टुरेन्टको शेयर दिन्छु भन्दै एक लाख रुपैयाँ ठगी गरेको पाइएको छ ।
दुवईमा रहेका केही नेपालीलाई पोल्याण्ड पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगेको समेत पाइएको छ ।
बसन्त ढकाल, देवेन्द्र शर्मा, सुनिल पौडेल, राजु यादव, सन्जोग बराल, फाइटर राई लगायत दर्जनौँ व्यक्तिबाट १६ हजार ८ सय दिराम ठगी गरेको पीडितहरुले बताए । भारतीय नागरिक धनन्जय र उनकी श्रीमतीलाई पनि पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको पीडितहरुले बताए ।
दियोपोस्टले सापकोटालाई ठगीको विषयमा प्रश्न गर्दा अस्विकार गरे । ‘म नितान्त व्यावसायी हो । साथीहरुले भेट्न बोलाउनु भएको छ । उहाँहरुलाई भेट्न म दरबारमार्ग जाँदैछु,’ सापकोटाले भने,‘एउटा कुरा साँचो हो । व्यावसायीक रुपमा काम गर्ने भनेर उहाँहरु दुवइ जानु भएको थियो । मैले नेपालबाट शेयर दिन्छु भनेर काम गरेको होइन । उहाँहरु आफै दुवई जानु भएको हो । उहाँ बस्नु पनि भयो ।’
सापकोटाले यम बहादुर कार्की आफ्नै गाउँको मान्छे भएको र साथी समेत रहेको स्विकार गरे ।
कार्कीसँग ३ लाख ८० हजार लिनुभएको हो ? भन्ने दियोपोस्टको प्रश्नमा उनले भने,‘अँ एक लाख ८० हजार फिर्ता गरिसकेको छु । उहाँले १० लाख रुपैयाँ शेयरको लागि दिन्छु भन्नु भएको हो । उहाँहरु दुई चोटी दुबई जानु भयो । उहाँहरुको भिषा र टिकट छ । अहिले उहाँसँग बसेर खर्चहरु के छ मिलाउँदैछु ।’
रविन कार्की पनि आफ्नो साथी रहेको उनले बताए । ‘उहाँहरुसँग हिसाब किताब नमिलेर मिलाउन जाँदैछु,’ उनले भने ।
सापकोटाले दियोपोस्टले समाचार प्रकाशन गरे मानहानीको मुद्दा हाल्ने धम्की समेत दिए ।