सांसद आलम पक्राउ प्रकरणमा देउवा र सिटौलाको प्रश्न– ‘ १२ बर्षअघिको मुद्धा किन ब्यूँताइयो ?’

दियो पोस्ट  

काठमाडौँ, कात्तिक १ । नेपाली काँग्रेसका सांंसद अफ्ताव आलम पक्राउ प्रकरणमा काँग्रेसले मुख खोलेको छ । काँग्रेस सभापती देउवा र नेता कृष्णप्रसाद सिटौलाले आलमलाई पक्राउ गरेर सरकारले काँग्रेबिरुद्ध षड्यन्त्र शुरु गरेको बताएका छन् ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा मध्यपुरथिमिको बोडेमा शुक्रबार आयोजित दुईदिने प्रशिक्षणको उद्घाटनमा उनले १२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर सरकारले काङ्ग्रेसलाई प्रहार गर्न थालेको बताएका हुन् ।

काँग्रेस नेता सिटौलाले सञ्चारमाध्यमले समेत षडयन्त्रमूलक रुपमा काङ्ग्रेसको विरुद्धमा आएको आरोप लगाए । उनले भने, “पत्रपत्रिकालगायत सबै सञ्चारमाध्यमले समेत ‘ग्रान्ड डिजाइन’ बनाएर काङ्ग्रेसविरुद्ध लागेका छन्का । काङ्ग्रेस सांसद मोहम्मद अफताब आलमको विरुद्ध आएका समाचार यसको नमूना हो ।”

रौतहटबाट सांसद चुनिएका आलम संविधान सभाको पहिलो निर्वाचनको समयमा २२ जनाको हत्या अभियोगमा गत असोज २६ गते उनकै गाउँबाट पक्राउ परेका हुन् । निर्वाचनको समयमा बुथ कब्जा गर्न र परिणाम सहज रुपमा आफ्नो पक्षमा ल्याउनका लागि आलमले सिमापारिबाट भारतीयहरु बोलाएर बम बनाउन लगाएका थिए ।

बनाउने क्रममै बम विस्फोट भएपछि त्यहाँ रहेका युवाहरु घाइते भएका थिए । घाइते व्यक्तिहरुलाई उपचार गर्नतर्फ नलागी ज्यूँदै इट्टाभट्टामा हालिदिएको प्रत्यक्षदर्शीको भनाई रहेको छ । घाइतेहरुको उपचार गर्ने भन्दै बेहोस पार्ने सुई लगाएर निकै क्रुरतापुर्वक इट्टाभट्टामा हालेर जलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

सांसद भइसकेपछि घटनालाई लुकाउनका लागि राजनीतिक संरक्षण पाएका आलमले प्रहरीलाई समेत अनुसन्धान गर्न नदिएको जनगुनासो रहेको छ । जिल्लामा पनि शक्तिको दुरुपयोग गर्दै आफु सहजको प्रमुख जिल्ला अधिकारीलाई लैजाने र पीडितहरुको गुनासोलाई सुनुवाई हुन नदिने प्रपञ्च गरेको पीडितहरुले बताएका छन् ।

१२ बर्षपछि असोज २६ मा पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यलय रौतहटको हिरासतमा राखिएको छ । उनलाई जिल्ला प्रहरी कार्यलय रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र बहादुर खत्रीले पक्राउ गरेको हो ।