साहित्यकार डा. लम्सालको ‘अग्नि’ महाकाव्य सार्बजनिक

diyopost.com
दियो पोस्ट  आइतबार, आश्विन १७, २०७८ | २:०५:०५

काठमाडौं । साहित्यकार तथा रेडियोकर्मी डा. नवराज लम्सालको तेस्रो महाकाव्य ‘अग्नि’ सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच बैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष तथा राजनीतिक बिश्लेषक बिश्वभक्त दुलाल ‘आहुति’, प्राध्यापक डा. रामप्रसाद ज्ञवाली र प्राध्यापक डा. गीता त्रिपाठीले संयुक्त रुपमा महाकाव्यको लोकार्पण गरेका हुन् ।

कार्यक्रममा साहित्यकार लम्सालद्वारा लिखित ‘अग्नी’ महाकाब्यका बारेमा बोल्दै आहुतीले महाकाव्यले नेपाली समाजमा रहेको विकृति, विसङ्गति र जातीय व्यवस्थाको अन्त्य गरि परिवर्तनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । हिन्दु समाजका प्रथम बैज्ञानिक दलित हुन भन्दै नेता आहुतीले जातको बिनास नै आजको आवश्यकता रहेको बताए । नवराज लम्सालद्वारा लिखित ‘अग्नी’ महाकाब्यमा दलित समुदायको सीपमा आधारित पेशालाई महत्व दिएर ‘जेठी तरबार’को बारेमा चर्चा गरिएको बताउँदै नेता आहुतीले महाकाब्यको नाम नै ‘जेठी तरवार’ राखिनु पर्ने सुझाव दिए ।

जात ब्यवस्था रहेसम्म नेपाली समाजले गति लिन नसक्ने दावी गर्दै नेता आहुतीले दलित समदायको पेशा र श्रमको सम्मान गर्ने परिपाटीको बिकास हुनु पर्ने औल्याए । उनले दलित समुदाय नेपाली इतिहासको प्रथम प्राविधिक तथा वैज्ञानिक रहे पनि जात व्यवस्थाले त्यसको सही मूल्याङ्कन हुन नसकेको तर्क समेत गरे ।

यसैगरी अग्नी महाकाब्यका बारेमा आफ्नो धारणा ब्यक्त गर्दै प्राध्यापक डा. रामप्रसाद ज्ञवालीले दलितहरु इतिहाँसका निर्माता भएको तर्क गरे । उनले विश्वकर्मा समुदायको सीप र प्रतिकका रुपमा जेठी तरबारलाई काब्यमा समेटिएको उल्लेख गर्दै महाकाब्यमा दलित समुदायलाई मुल पात्र बनाएर दलित मुक्तिका लागि चेतना जाग्रित गर्ने महाकाब्य निर्माण भएको बताए । डा. ज्ञवालीले वि.सं. २०५० को दशकयता नेपाली साहित्यमा लेखिएका तीन सयभन्दा बढी महाकाव्य मध्ये ‘अग्नि’ सबैले पढ्नै पर्ने विषय र पात्रमाथि लेखिएको उल्लेखनीय महाकाव्य भएको बताए ।

कार्यक्रममा डा. गीता त्रिपाठीले अग्नि महाकाव्य मार्फत नेपाली समाजको चरित्र, उत्पीडन र विभेदको कथा मौलिक ढङ्गले प्रस्तुत गरेको भन्दै लेखकको प्रशंसा गरिन् । साहित्यकार तथा लेखक डा. लम्सालले अग्नि यसअघि लेखिएका दुई वटा महाकाव्य कर्ण र धराभन्दा भिन्न विषयवस्तु, विशेष गरी जातको आधारमा हुने छुवाछुत र सनातन उत्पीडनको लामो कथालाई महाकाव्य मार्फत उजागर गरेको बताइन् । लम्सालद्वारा लिखित महाकाब्यले आम कवि र लेखकहरुलाई समाजका बारेमा आलोचनात्क चेत राख्न ठुलो चुनौती थपिदिएको उनको तर्क छ ।

महाकाब्य रचना गर्दाका अनुभव सुनाउँदै साहित्यकार लम्सालले समाजले अहिलेपनि अन्र्तजातीय बिवाहलाई मान्यता नदिएको बताए । आफ्नी छोरीले अन्र्तजातीय बिवाह गर्दा समाजमा प्रतिष्ठित भनिनेहरुबाटै आफु अपमानित हुनु परेको प्रसंग उल्लेख गर्दै डा. लम्सालले आफ्नो कृति जात ब्यवस्था अन्त्य गर्नका लागि लेखिएको सानो पहल भएको बताए ।

समकालीन नेपाली साहित्यका प्रतिनिधि कवि तथा गीतकार र नेपाली सञ्चार क्षेत्रका अग्रणी व्यक्ति डा. लम्सालको रेडियो नेपाल तथा बीबीसी नेपाली सेवासँग जोडिएको लामो इतिहास छ । साहित्यकार हुनुको शिल्पले सञ्चारको क्षेत्रमा उनको उपस्थितिलाई जति अर्थपूर्ण र बहुविध बनाएको छ, सञ्चारको ज्ञान र शिल्पले साहित्य लेखनमा पनि त्यति नै तीव्र आलोचनात्मक चेत बढाएको पाइन्छ ।

निकै सुस्त जस्तो लाग्ने नेपाली महाकाव्य विधालाई चलायमान बनाउने उनको यो योगदानलाई बौद्धिक , तार्किक र वस्तुनिष्ठ मानिन्छ । समकालीन चेतनाको जगमा पूर्वीय दर्शन र मिथकलाई हेर्ने , देशको बहुलता र विविधतालाई नजिकबाट अनुभूत गर्ने र सीमान्तकृत पात्र , प्रवृत्ति र तिनको पहिचानलाई मूल प्रवाहमा ल्याउने सन्दर्भ डा लम्सालका लेखनका खास विशेषता मानिन्छन् ।

कर्णमा सीमान्तकृत कर्णको नायकत्व, धरामा देशको बहुलता र बहुलतामै उठेको राष्ट्रिय चिन्तन तथा अग्निमा देखापरेको उच्च मानवतावाद उनीभित्र क्रमशः क्रमशः बढ्दै आएको लेखकीय उत्कर्ष मान्न सकिन्छ । अग्नि उनको लामो अध्ययन, अनुभव र अनुसन्धानको जगमा उभिएको निकै बौद्धिक र तार्किक तर भाषा र अभिव्यक्तिका हिसाबले कोमल र सम्प्रेष्य महाकाव्य हो । यो महाकाव्यलाई बुकहिल प्रकाशनले बजारमा ल्याएको हो।

विभिन्न धार्मिक , सांस्कृतिक तथा ऐतिहासिक तर्क र तथ्यसहित मानव मर्यादाका लागि यसमा गहिरो आग्रह गरिएको छ । ‘कर्ण’ महाकाव्य २०६६ र धरा महाकाव्य २०७३ का अतिरिक्त उनका अन्य ३ वटा कविता सङ्ग्रह र २ वटा गीत सङग्रह प्रकाशित छन् । अग्नि लम्सालको आठौं कृति हो । यो महाकाव्यलाई बुकहिल प्रकाशनले बजारमा ल्याएको हो ।

 

सम्बन्धित खबर