अर्बौं ठगी अभियोगमा सिभिल समुहका अध्यक्ष इच्छाराज तामाङको मामा ससुरा समेत पक्राउ

diyopost.com
दियो पोस्ट  मंगलबार, आश्विन १९, २०७८ | १२:०१:५०

काठमाडौं । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोले सिभिल बैंक तथा सिभिल समुहका अध्यक्ष इच्छाराज तामाङका मामा ससुरालाई समेत पक्राउ गरेको छ । उनीसहित १२ जनालाई ब्युरोले सोमबार सुन्धाराबाट पक्राउ गरेको हो ।
सर्वसाधरणको निक्षेपमा अर्बौं रकम ठगी गरेको भन्दै ज्वाइँ ससुरालाई नै सिआइबीले पक्राउ गरेको हो । २०५५/५६ सालमा उनले आफू अध्यक्ष रहेर सिभिल सहकारी खोलेका थिए । करिब १० वर्षसम्म उनी सहकारीको अध्यक्ष बसेका थिए । उनी सहकारीका अध्यक्ष मात्रै थिएनन् ऋण शाखा प्रमुख पनि आफै थिए । सहकारी निर्माण गरेपछि सिभिल समुह मार्फत उनले घरजग्गा र हाउजिङ कारोबारमा हात हाले । सहकारीबाटै अर्बौं ऋण अपचलन गरेर घर जग्गामा हालेका उनी विस्तारै समस्यामा पर्दै आए । उनले सिभिल सहकारीबाटै ऋण लिएर एक हजार १ सय वटा घर बनाएर बेचेको आरोप छ । सहकारीको ऋण भने तिर्न नमानेको उनीमाथि आरोप छ । तामाङले २०६७ सालमा सिभिल बैंक स्थापना गरे । उक्त बैंकको अध्यक्ष बन्नका लागि उनले यता सहकारीको अध्यक्ष छाडे र आफना मामा ससुरा पर्ने केशवलाल श्रेष्ठलाई सहकरीको अध्यक्ष जिम्मा लगाए । मामा ससुरालाई उनले ऋण शाखा प्रमुख पनि बनाए । उनै मामा मार्फत उनले अर्बौं ऋण हिना मिना गरेको आरोप छ । तर, सहकारीको बचतकर्ताको रकम भने फिर्ता दिन सकेनन् । सहकारीमा २२ सय बचतकर्ताको ८ अर्ब ५७ करोड रुपैयाँ फसेको छ ।

प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीका अनुसार तामाङसहित २८ जना विरुद्ध सिआइबीमा उजुरी छ । प्रारम्भिक चरणमा ७५ जनाले उजुरी दिएका छन् । ४५ जनाले आज मंगलबार उजुरी दिने तयारी गरेका छन् । तामाङसहित २८ जना सहकारी सञ्चालकले २८ जना सञ्चालकहरुले २२ सय भन्दा बढी बचतकर्ताको ८ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ र सावाँ गायब पारेका छन् । पक्राउ परेका तामाङले आफूले पैसा तिर्ने बताएका छन् । उनलाई सम्पति सुद्धिकरणमा समेत छानबीन गर्ने सिआइबीको तयारी छ ।

सम्बन्धित खबर