सर्वोच्च अदालतमा चोलेन्द्र विरुद्ध ‘विद्रोह’को सुँइको पछि गजेन्द्र हमालको राजिनामा !

दियो पोस्ट  

काठमाडौं । तीन दिन अघि नियुक्त भएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले आकष्मात राजिनामा दिएका छन् । उनको राजिनामा स्विकृत गरेर प्रधानमन्त्री शेर बहादुर देउवा यतिबेला पोखरा प्रस्थान गरिसकेका छन् ।

शुक्रबार हमाल मन्त्री नियुक्त हुनुअघि नै खबरहरु प्रकाशित भएका थिए । दियोपोस्ट डटकमले गत भदौ ९ गते नै नेपाली मिडियामा पहिलो पटक प्रधानन्यायधीशले आफ्ना मान्छेलाई मन्त्रीको कोटा मागेको खबर प्रकाशित गरेको थियो । त्यस्तै हमाललाई उद्योग वाणिज्य मन्त्रीमा नियुक्त गर्ने तयारी रहेको विषयमा पनि दियोपोस्टले नै पहिलो पटक समाचार ब्रेक गरेको थियो ।

सञ्चारमाध्यमको खबरदारीका बाबजुत देउवाले हमाललाई मन्त्री नियुक्त गरेका थिए । तर, आइतबार आकष्मात उनले राजिनामा दिए । राजिनामामा उनले सञ्चार माध्यम र कानुनविद्हरुले प्रश्न उठाएका कारण राजिनामा दिएको बताएका छन् ।

विश्वस्त सुत्रका अनुसार प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो कोटामा कार्यपालिकामा भागबण्डा खोजेपछि न्यायाधीशहरुले चर्को विरोध गरेका छन् । उनका जेठान नाता पर्ने हमाललाई मन्त्री बनाएपछि बरिष्ठ न्यायाधीश दिपक कार्कीसहितको एउटा खेमाले इजलाश नै बहिष्कार गर्ने तयारी गरेको थियो । ‘इजलाश बहिष्कार गर्ने तयारी थियो । तर, इजलाश बहिष्कार गरेपछि उहाँको पनि गोपाल पराजुलीको हालत हुन्थ्यो,’ सर्वोच्च स्रोतले भन्यो,‘बरु प्रधानन्यायाधीशलाई सुरक्षित गर्ने हिसाबले हमालजीले राजिनामा दिनु भएको हो ।’

सर्वोच्च अदालतमा न्यायाधीशहरुले इजलाश नै बहिष्कार गरेको खण्डमा प्रधानन्यायाधीश समेत कामकाज विहिन हुनेछन् । कतिपय कानुनविद्हरुले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनु पर्ने माग समेत गरेका थिए ।
‘सम्माननीय ज्युका कारण न्यायालय नै बद्नाम भएपछि न्यायलयको मर्यादा कायम गर्न न्यायाधीशहरुले विद्रोह गर्ने तयारी गरेका थिए,’ ती स्रोतले भन्यो,‘त्यो विद्रोह टार्नका लागि हमालले राजिनामा दिएका हुन् ।’