आफ्नै सहकर्मी हत्यामा संलग्न मगरसहित सशस्त्रका दुई सई निलम्बित

दियो पोस्ट  

काठमाडौं । आचरणविपरित काम गर्ने दुई जना सशस्त्र प्रहरी नायब निरीक्षक (सई) निलम्बनमा परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक कृष्ण बहादुर मगर निलम्बनमा परेका हुन् ।

सशस्त्र प्रहरी नायब निरीक्षक सुवेदीले यही कात्तिक ४ गते निर्वाचन सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीहरु पुर्‍याई कार्यालय फर्कने क्रममा दिइएको जिम्मेवारी सहि ढंगले निर्वाह नगरेपछि सवारी दुर्घटना हुन पुगेको थियो ।

त्यस्तै गत असोज २० गते भारतीय भूमिमा मृत्त अवस्थामा फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवको घटनामा प्रारम्भिक छानबिन गर्दा विभागीय नीति तथा आदेश विपरीत कार्य गरेको देखिएकाले सशस्त्र प्रहरी नायब निरीक्षक मगरलाई पनि निलम्बन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

दुवैलाई विभागीय कारबाही अघि बढाइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सम्बन्धित खबर