आफ्नै कार्यालयमा कार्यरत महिला प्रहरीलाई बलात्कार प्रयास गरेको अभियोगमा नेपाल प्रहरीका इन्सपेक्टर अपूर्व ढुंगाना पुर्पक्षका लागि करार चलान भएका छन ।
जिल्ला अदालत धादिङले उनलाई मंगलबार थुनामा पठाउने आदेश दिएको हो । इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यालय प्रमुखका रूपमा कार्यरत रहेका बेला उनले आफ्नै कार्यालयमा कार्यरत एक महिला प्रहरीमाथि बलात्कार प्रयास गरेको आरोप लागेको थियो ।
पीडित महिला प्रहरीको उजुरीका आधारमा गत १५ असोजमा जिल्ला प्रहरी कार्यालय, धादिङले उनलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि न्यायिक हिरासतमा राखेको थियो । मदिरा सेवन गरेर मध्यराति महिला ब्यारेकमा पसेर बलात्कारको प्रयास गरेको पीडितको उजुरीमा उल्लेख छ ।
ढुंगाना १० महिनाअघिदेखि इलाका प्रहरी कार्यालय खानीखोलामा कार्यालय प्रमुखको जिम्मेवारीमा थिए ।
ढुंगाना पक्राउ परेर करणी उद्योगमा मुद्दा दर्ता भएसँगै उनी स्वतः निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले खानीखोलामा इन्स्पेक्टर डबलबहादुर बमलाई काजमा खटाएको छ ।
चार वर्षअघि इन्सपेक्टरमा बढुवा भएका ढुंगाना पहिलेदेखि नै विवादित पात्र हुन् । कांग्रेस नेताको सिफारिसकै आधारमा इलाका प्रहरी कार्यालय खानीखोलाको इन्चार्ज पाएको आरोप उनी माथि छ ।