काठमाडौं । गत मङ्गलवार (कात्तिक १५) नेकपा (एमाले)को निर्वाचन केन्द्रित ९६ पृष्ठको घोषणापत्र सार्वजनिक भयो । एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सो घोषणापत्र सार्वजनिक भएको हो । घोषणापत्रमा एमाले नेतृत्वको सरकार बने २० वटा काम गर्ने ग्यारेन्टी समेत दिएको छ । घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपाल: सुखी नेपाली’को राष्ट्रिय सङ्कल्पलाई निरन्तरता दिइएको छ ।
करिब २० हजार शब्द रहेको घोषणापत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रस्ट्याउने प्रयास गरिएको बताइएको छ । डिजिटल डिस्प्लेमा घोषणापत्रमा समेटिएको मुख्य विषयहरू प्रस्तुत गरिएको छ । एमालेले घोषणापत्रमा आगामी पाँच वर्षमा गर्ने कामलाई २० ग्यारेन्टीमा संक्षेपीकरण गरेको छ । त्यसैलाई घोषणापत्रमा व्याख्या गरिएको जानकारी दिइएको छ । एमालेको २० वटा ग्यारेन्टी मध्य स्वस्थ महिनावारीका लागि वार्षिक १५ सय छुट्याउने एजेन्डा छ ।
एमालेले आफ्नो घोषणापत्रमा ‘सुरक्षित महिनावारी कार्यक्रमका लागि महिनावारी हुने उमेर समूहका देशभित्रका सम्पूर्ण महिलाका लागि गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदनिम्ति वार्षिक रु १ हजार ५ सय उपलब्ध गराइने छ ।’ उल्लेख गरेको छ । एमालेको घोषणापत्रमा उल्लेख भएका २० ग्यारेन्टी मध्य ‘स्वस्थ महिनावारी : १५ सय वर्षभरि’ नाराको ग्यारेन्टी भने आलोचित बनेको छ । महिलाको संवेदनशील विषयमा खेलाँची गरेको र घिनलाग्दो राजनीति गरेको भन्दै महिला अधिकारकर्मीहरूले विरोध समेत जनाएका छन् । महिला अधिकारकर्मीहरूले एमालेलाई महिलाको यौनिकता माथि र प्रजन्नसंग खेलबाड गरेको भनी आरोप समेत लगाएका छन् ।
एमालेका कार्यकर्ताहरूले यो ग्यारेन्टी स्वागतयोग्य रहेको बताए पनि विभिन्न समाजशास्त्र एवं महिला स्वास्थ्यको क्षेत्रमा काम गर्नेहरूले भने गलत एजेन्डा उठाएको बताउँदै आएका छन् । समाजशास्त्र डा. मीना पौडेल भन्छिन्,“एमालेको स्वस्थ महिनावारिको एजेन्डा महिलाको यौनकता माथि र प्रजन्नसंगको खेलबाड मात्रै हो ।” लामो समयदेखि महिलाको क्षेत्रमा वकालत गर्दै आएकी पौडेलले एमालेको घोषणपत्रलाई व्यापारिक घोषणा पत्रको संज्ञा दिएकी छन् । दियोपोस्टसँगको संवादमा उनले भनिन्, ‘एमालेको घोषणापत्रलाई पनि के घोषणापत्र भन्ने त्यो त समग्रमा एउटा व्यापारिक घोषणापत्र मात्रै हो ।’ उनले थपिन्,‘वार्षिक १५ सय भनेको महिलाको यौनिकता माथि र प्रजन्नसंगको खेलबाड मात्रै हो ।’
एमालेमाथि उनले महिनावारीको विषयलाई लिएर व्यापारलाई संस्थागत गर्न खोजेको आरोप लगाएकी छिन् । ‘एमालेले महिनावारीमा हुने छुवाछुत, त्यतिबेला आउने जोखिमहरूलाई हटाउने भन्दा पनि प्याडको व्यापारलाई संस्थागत गर्ने उद्देश्य हो ।’ उनले भनिन्, ‘नितान्त रूपमा दलाल पुँजीवादी र व्यापारीहरूलाई पोस्ने योजना मात्रै हो । महिलाहरू माथि हुने विभेदको बारेमा, उनीहरूको आर्थिक स्थिति सुधार गर्ने भन्ने विषयमा सोच्ने भन्दा पनि प्याड बनाउने कारखानालाई कसरी सहयोग गर्ने भन्ने उद्देश्यले मात्रै ल्याएको एजेन्डा हो ।’
एमालेको घोषणापत्रमा महिलाको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको ‘प्याड’लाई लिएर फोहोरी राजनीति गरेको भन्दै विद्यार्थीहरूले समेत आपत्ति जनाएका छन् । महिला र विद्यार्थीको क्षेत्रमा अग्रणी भूमिकामा रहेर काम गर्दै आएकी साया किरण भन्छिन्,‘महिलाको स्वास्थ्यसङ प्रत्यक्ष रूपमा जोडिएको प्याडको विषयलाई लिएर राजनीतिक दलहरूले पटक–पटक फोहोरी राजनीति गरिरहेका छन् । चुनावको समयमा जनताको मत पाउन घोषणा–पत्रमा जति गहकिला विषयवस्तु र जे–जस्ता कार्यक्रमका योजना निर्माण भएतापनि चुनावपछि भने कुनै पनि एजेन्डामा काम गरेको भेटिँदैन । महिलालाई उत्पादनसङ जोडेर उनीहरूको सामाजिक, राजनैतिक स्थितिलाई कसरी सुधार गरेर अगाडि ल्याउने बारे सोच्दैनन् ।’
उनले थपिन्,‘वार्षिक १५०० सयको लागि नै महिलाहरूले सुर्यमा भोट किन दिने ? एमालेले गरेको हिसाब निकै हास्यास्पद छ । स्वस्थ महिनावारीका लागि छुट्टाएको १५०० रुपियाँलाई हिसाब गर्दा मासिक १२५ रुपियाँ हुन्छ । स्वास्थ्यलाई ध्यानमा राखेर नै प्याड किन्ने हो भने पनि एक प्याकेट ठिक्कैको (राम्रो र गुणस्तरीय त त्यस्तै हो) प्याडको मूल्य नै १२०/१२५ पर्छ । त्यसैमाथि सरकारले प्याडमाथि कति धेरै कर बढाएको छ ।’ उनले भनिन्,‘प्याडको विषयलाई मात्रै लिएर यी सबै जति पनि कार्यक्रमहरू एजेन्डाहरू ल्याएको छ, केवल जनताको आँखामा छारो हाल्ने काम मात्रै हो । महिलाहरूले यस्ता एजेन्डामा खुसी भएर भोट दिनुको कुनै औचित्य छैन ।’
अब कुनै महिलाले थोत्रा कपडा प्रयोग गर्नु पर्दैन : सुनिता बराल
यद्यपि कतिपय महिलाहरूले भने घोषणापत्रमा ‘प्याड’को विषयलाई समेट्नु सकारात्मक रहेको समेत बताएका छन् । एमालेबाट समानुपातिक तर्फ सिफारिस भएकी नेतृ सुनिता बरालले भने एमालेले ‘प्याड’को विषयलाई समेट्नु सकारात्मक रहेको बताइन् । दियोपोस्टसँगको संवादमा उनले भनिन्,‘महिनावारी हुँदा प्रत्येक महिलालाई औसतमा १० वटा प्याडको आवश्यकता पर्छ । जसको आजको बजार मूल्य करिब १० वटा प्याडलाई १२ रुँपैयको दरले १२० हुन आउँछ । नेकपा एमालेले घोषणा गरेको प्रत्येक महिलाहरूको लागि वार्षिक महिनावारी प्याड खरिद बापत प्रदान गर्ने रु १५०० अर्थात् मासिक १२५ ले पनि महिलाको जीवनमा धेरै सहज हुन जान्छ ।’
उनले थपिन्,‘कुनै पनि महिलाले थोत्रा कपडाहरुकाे प्रयोग गरेर यौनजन्य रोगहरू लगेर बाँच्नु पर्ने छैन । महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर एमालेले यो कार्यक्रम ल्याएको हो । अब कुनै महिलाले महिनावारीमा थोत्रा कपडा प्रयोग गरेर यौनजन्य रोगको सङ्क्रमणमा पर्नुपर्दैन ।’