काठमाडौं । एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा आफूमाथि लागेको आर्थिक अनियमितता र हातपात अभियोगमा कारबाही हुने डरले विभिन्न शक्ति केन्द्रको शरणमा पुगेका छन् । उनले गैरआवाशिय नेपाली संघ एनआरएनएका उच्च अधिकारीलाई दबाव दिन विभिन्न व्यक्तिहरुलाई उपयोग गरेका छन् ।
उनले काठमाडौं आए लगत्तै मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी लगायत उच्च अधिकारीलाई भेटेर आफूलाई लागेको अभियोगबाट मुक्ती दिलाउन अपिल गरेका छन् । दैनिक पत्रिकाको आवरणमा म्यानपावरको काम गर्दै आएका एक पत्रकारलाई समेत उनले उपयोग गर्दै आएका छन् । ती पत्रकारलाई भेटेको तस्विर समेत उनले सामाजिक सञ्जालमा राखेका छन् । केहीदिन अघि दियोपोस्टमा उनले आर्थिक अनियमितता गरेको र कार्यक्रममै माइक खोसेर अनैतिक क्रियाकलाप गरेको विषयमा समाचार प्रकाशन गरेको थियो । उक्त समाचार प्रकाशन भएपछि उनले विभिन्न व्यक्ति मार्फत समाचारको स्रोतको खोजी गरेका थिए ।
केहीदिन अघि आफूलाई एनआरएनए कतारको कोषाध्यक्ष बताउने विनोद प्रसाद बसौलाले समाचारको स्रोत के हो भन्दै धम्की दिएका थिए । उनले आफू मिडियालाई कारबाही गर्न सक्ने हैसियतको व्यक्ति भएको बताउँदै जे पनि गर्न सक्ने धम्की दिएका थिए ।
उनै बसौलाको विज्ञप्तिलाई लिएर ती पत्रकारले पत्रकार आचार संहिता विपरित खण्डन छापेका थिए । प्रेस काउन्सिल आचार संहितामा सम्बन्धित सञ्चार माध्यममा नै खण्डन गर्नुपर्ने उल्लेख छ । तर, आचार संहिताको धज्जी उडाउँदै ती पत्रकारले खण्डन छापेका थिए ।
नेपाल आएका मुक्तदालाई विभिन्न व्यक्तिसँग भेटाउने र कारबाहीबाट मुक्ती दिलाउने भन्दै ती पत्रकारले अभियान नै छेडेका छन् ।